काठमाडौँ – काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलसँग साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र बोर्ड सदस्य सुशील प्याकुरेलले आज भेट गरी काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सेवाग्राहीका लागि सहज र थप सर्वसुलभ बनाउने विषयमा छलफल गर्नुभएको छ ।
उपमेयर डंगोलसँग कार्यकक्षमै भेट गरी उहाँहरुले यस विषयमा छलफल गर्नुभएको हो । छलफलका क्रममा उपमेयर डंगोलले आफ्नो चुनावी घोषणापत्रमै महानगर भित्र रहेको यातायातलाई व्यवस्थित तथा आधुनिकीकरण गर्न नयाँ प्रविधियुक्त यातायात पद्धतिको विकास गर्ने विषयलाई समावेश गरेको भन्दै त्यस्ता सन्दर्भमा आफू सकारात्मक रहेको बताउनु भएको थियो ।
‘काठमाडौँ महानगरको मात्रै होइन उपत्यकाकै यातायातलाई व्यवस्थित तथा आधुनिकीकरण गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ छलफलका सिलसिलामा आफूले राखेको धारणाबारे डंगोलले भन्नुभयो, ‘काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सेवाग्राहीका लागि सहज र थप सर्वसुलभ बनाउने एजेण्डा काठमाडौँ महानगरपालिकाको पनि हो । साझाको यी एजेण्डामा हामी सकारात्मक छौँ र सहकार्य गर्न तयार छौँ ।’
डंगोलले यस अघि पनि महानगरपालिकाले साझासँग सहकार्य गरेको स्मरण गराउँदै पहिला भएका सम्झौतालाई समेत आधार मानेर विज्ञहरुसँग छलफल गरी थप व्यवस्थित र भरपर्दो तरिकाले अघि बढ्नु पर्नेमा जोड दिनुभएको थियो ।
भेटमा दीक्षितले नेपालभरि र खासगरी राजधानी उपत्यकामा सहरी सार्वजनिक यातायात कमजोर अवस्थामा रहेको भन्दै यसको सुधारका लागि आफूहरु लागिरहेको बताउनु भएको थियो । ‘दीक्षितले भेटमा २०७६ साल असारमा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सरकारले तीन अर्ब लगानी गरी सार्वजनिक यात्रा, जनस्वास्थ्य र अर्थतन्त्रलाई एकैपटक ठूलो परिवर्तन गर्ने योजना अघि बढाएको स्मरण गराउनु भएको थियो ।
‘विभिन्न कारणले योजना समयमा अघि बढ्न नसक्दा केही ढिला भयो,’ बोर्ड सदस्य प्याकुरेलले भेटपछि कुराकानी गर्दै भन्नुभयो, ‘अहिले साझाले पहिलो चरणमा करीब ७० करोडमा ४० विद्युतीय बस खरिद गरेकामा तीन ओटा बस आइसकेका छन् । बाँकी ३७ बस दशैँपछि आउँदैछन् ।’ उहाँले सरकारले तीन वर्ष पहिले दिएको रकमबाटै विद्युतीय बस खरिद भएको भन्दै प्याकुरेलले ब्याट्रीबाट चल्ने बस नयाँ प्रविधिको भएकाले तीन चरणमा भित्र्याउने योजना बनाइएको बताउनु भयो ।





प्रतिक्रिया