बिर्तामोड – एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १६औँ वार्षिक साधारणसभाले शेयरधनीहरुलाई ८ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको बैंकले उक्त बोनस शेयरबापतको कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।
साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को वितरण योग्य संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी एक अर्ब १५ करोड १७ लाख ९२ हजारको बोनस वितरण गर्नेछ । बैंकको कार्यक्षेत्र प्रदेश नम्बर १ का सबै जिल्लाहरुमा विस्तार गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पाँचथरका विभिन्न ४४ स्थानमा शाखा कार्यालयहरुमार्फत सेवा प्रदान गरिरहेको छ।
चालु आर्थिक वर्षमा प्रदेश नम्बर १ भरि आफ्नो कारोबार सञ्चालन गर्ने उद्देश्यका साथ आवश्यक न्यूनतम चुक्ता पुँजी पूरा गरिसकेको हुनाले नियामक निकायको स्वीकृति लिई आफ्नो कार्यक्षेत्र विस्तार गर्दै कार्यक्षेत्रभित्रका जिल्लाहरुमा थप नयाँ शाखाहरु विस्तार गर्ने लक्ष्य रहेको छ ।
सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले उद्घाटन गरेको सभामा स्वागत मन्तव्य सञ्चालक राजन शर्माले र धन्यवाद सञ्चालक पर्शुराम दाहालले गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गर्नुभएको थियो । उक्त सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले बैंकको वर्तमान गतिविधिको बारेमा मन्तव्य राख्नभएको थियो ।







प्रतिक्रिया