झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने बताउनु भएको छ।
नेकपा एमाले दमक नगर कमिटी कार्यालयमा अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा पार्टीले हार्नुको कारण के हो भनेर कार्यकर्तालाई प्रश्न गर्नुभयो ।
यसपटक स्थानीय चुनावमा दमकमा विरोधीलाई फाइदा पुग्ने काम भएको चर्चा गर्दै अध्यक्षले अर्कालाई जिताएर आफैं अपमानित हुने र लज्जित हुने काम नगर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले व्यक्ति उठाउने होइन, पार्टी उठाउने हो । पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो नेतृत्व गर्ने हो ।’
सबैले पार्टीको सिद्धान्त र नीति बुझ्नुपर्ने अध्यक्ष ओलीको भनाई छ । उहाँले आफू पार्टीलाई एकढिक्का बनाउने अभियानमा लागिरहेको बताउँदै आगामी दिनमा गल्ती नदोर्याउन र पार्टीले जित्ने गरी काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।





प्रतिक्रिया