अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसपिपीमा सहभागी नहुने विषयमा नेपालले अमेरिकालाई पत्राचार गरिसक्यो : परराष्ट्रमन्त्री खड्का

एसपिपीमा सहभागी नहुने विषयमा नेपालले अमेरिकालाई पत्राचार गरिसक्यो : परराष्ट्रमन्त्री खड्का


काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सरकारबाट प्रस्तावित ‘स्टेट पार्टनसीप प्रोग्राम’मा सहभागी नहुने नेपाल सरकार निर्णय अमेरिकालाई पत्राचार भइसकेको जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले एसपिपी अगाडि नबढाउने र सो जानकारी अमेरिकी सरकारलाई गराउने मन्त्रिपरिषद्को निर्णयलाई परराष्ट्र मन्त्रालयले कार्यान्वयन गरिसकेको छ भन्नुभयो ।

“नेपालले एसपिपीलाई अगाडि नबढाउने निर्णय गरेको लिखित दस्तावेज कूटनीतिक माध्यमबाट यही साउन ९ गते अमेरिकी सरकारसमक्ष पठाइएको छ”, उहाँले भन्नुभयो । सो सम्बन्धमा आन्तरिक परामर्श आवश्यक भएकाले पत्राचारका लागि केही समय लागेको उहाँले प्रष्ट्याउनुभयो । सरकारले गत असार ६ गते एसपिपीमा सहभागी नहुने र सोको जानकारी अमेरिकी सरकारलाई पठाउने निर्णय गरेको थियो ।

“मित्रराष्ट्रसँग आगामी दिनमा पनि सहकार्यका लागि विभिन्न निकायका बीचमा गृहकार्य, आन्तरिक संवाद, छलफल आवश्यक भएकाले पत्राचारका लागि केही समय लागेको हो”, मन्त्री खड्काले भन्नुभयो । एसपिपीका सम्बन्धमा नेपाल सरकारले गरेको निर्णयबारे अमेरिकासँग कूटनीतिक माध्यमबाट जानकारी गराइसकिएको उहाँले सदनलाई जानकारी गराउनुभयो ।

“यस सम्बन्धमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट नै छ, नेपाल सरकार सार्वभौमसत्ता सम्पन्न राष्ट्रको कार्यपालिकाको सर्वोच्च निकायले गरेको निर्णयप्रति संशय व्यक्त गर्नु अस्वभाविक हुन्छ”, उहाँले भन्नुभयो। एसपिपीका सम्बन्धमा अमेरिकालाई पत्राचार गर्न ढिलाइ भएको विषयमा आवाज उठाउने सांसदप्रति उहाँले आभार प्रकट गर्नुभयो ।