बिर्तामोड – झापाको विर्तामोडमा जिल्लाका चार्टर्ड एकाउन्टेन्टसहरुको आज सम्पन्न भेलाले सात सदस्यीय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ झापा शाखा गठन गरेको हो ।
झापा विर्तामोड निवासी सुशीलकुमार अग्रवालको नेतृत्वमा संघ गठन भएको छ । समितिको उपाध्यक्षमा अनिलकुमार प्रसाईं, सचिवमा गंगाराम बस्नेत र कोषध्यक्षमा राहुल साहेवाला चयन भएका छन् । त्यसैगरी श्रीप्रसाद निरौला, एञ्जिला मैनाली र समिर संग्रौला सदस्य चयन भएका छन् ।
पेशागत हकहित एवम् लेखा प्रणालीमा भइरहेको प्राविधिक विकासका बारे अन्तरक्रियात्मक ढंगले संस्थागत रुपमा प्रचारात्मक अभियानसमेत सञ्चालन गर्ने गरी झापामा संघ स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष अग्रवालले बताउनु भयो ।
अग्रवालकै अध्यक्षतामा आयोजित भेलाको उद्घाटन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघका केन्द्रीय अध्यक्ष दीपक पाण्डेले गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष अग्रवाललाई पाण्डेले सपथ खुवाउनु भएको थियो भने कार्यसमितिका अन्य पदाधिकारी–सदस्यलाई अध्यक्ष अग्रवालले सपथ गराउनु भयो ।
कार्यक्रममा संघका केन्द्रीय सुशील घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजाल, मेची भन्सार प्रमुख केशवराज ओली, संघको प्रदेश नं १ का प्रमुख मनोज अधिकारी, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था विराटनगर शाखाका संयोजक अश्विनी वंशल, नेपाल अडिटर्स एशोसिएशन झापाका अध्यक्ष होमनाथ उप्रेती, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीलगायते शुभकामना मन्तव्य राख्दै संघले कर तथा लेखा प्रणालीको आवश्यकता र महत्वलाई थप उजागर गर्न सक्रिय भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा आर्थिक ऐन २०७९ र नेपाल राष्ट्रबैंकले भरखरै सार्वजनिक गरेको मौद्रिक नीतिका सम्बन्धमा अन्तरक्रियात्मक चर्चा गरिएको थियो । आर्थिक ऐनका सम्बन्धमा अर्थविज्ञ शेषमणि दाहालले प्रस्तुति गर्नुभएको थियो भने मौद्रिक नीतिका सम्बन्धमा एक्सेल डेभलपमेन्ट बैकका कार्यकारी प्रमुख इन्द्र कट्टेल र बैंकर्स एशोसिएशन झापाका अध्यक्ष सुवास श्रेष्ठले प्रस्तुति राख्नु भएको थियो ।





प्रतिक्रिया