काठमाडौं-प्रहरीले काठमाडौंको चाबहिलस्थित सरस्वतीनगरमा डकैती गरेको आरोपमा पाँचजना पक्राउ गरेको छ। खाजा पसल चलाउने सुनसरीको धरान उपमहानगरपालिका-१० की ५३ वर्षीया महिलाको सुनको सिक्री, कुण्डल, फूली, औंठी र नगद लगायत धनमाल डकैती गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ चाबहिल सरस्वतीनगर बस्ने मकवानपुर छतिवन गाउँपालिका-४ का २४ वर्षीय उत्तम तामाङ, गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी बस्ने २२ वर्षीय भुपाल श्रेष्ठ, काठमाडौं महानगरपालिका-६ जोरपाटी बस्ने सिन्धुपाल्चोकका २४ वर्षीय कवीरजंग कुँवर, काठमाडौं दक्षिणढोका बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका २२ वर्षीय कल्याण कुमार सुवेदी र काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने सिन्धुपाल्चोक तौथली गाउँपालिका ५ का ४५ वर्षीय बुनु श्रेष्ठ रहेका छन्।
प्रहरी बृत्त गौशाला, बौद्ध र मालीगाउँबाट खटिएको संयुक्त प्रहरीले कपन, जोरपाटी र माकलबारी लगायतका स्थानहरूबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
चाेरी कसूरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनु भयो ।
प्रतिक्रिया