अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले शर्मालाई अर्थमन्त्रीमा पुन:नियुक्त गर्नु जनताको संवेदनशीलताको अपमान : प्रदीप ज्ञवाली

प्रधानमन्त्रीले शर्मालाई अर्थमन्त्रीमा पुन:नियुक्त गर्नु जनताको संवेदनशीलताको अपमान : प्रदीप ज्ञवाली


काठमाडौँ – नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जनार्दन शर्मालाई अर्थमन्त्रीमा पुनर्नियुक्ति गरेर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको संवेदनशीलतामाथि नै अपमान गरिएको बताउनुभएको छ ।

उपमहासचिव ज्ञवालीले गम्भीर प्रश्न उठेको व्यक्तिलाई पुनः नियुक्त गर्नु संवेदनशीलताको अपमान भएको बताउनुभयो ।   

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई पहुँच दिएर करको दर हेरफर गरेको विषयमा छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिका सदस्यसमेत रहेका उपमहासचिव ज्ञवालीले गम्भीर प्रश्न उठेको व्यक्तिलाई पुन:नियुक्ति गर्नु संवेदनशीलताको अपमान भएको बताउनु भयो ।

उपमहासचिव ज्ञवालीले संसदीय समितिको छानबिन नै अपुरो रहेको र गम्भीर आरोपमाथि पर्याप्त मात्रामा छानबिन हुन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अध्ययन नै अधुरो छ । अध्ययनलाई जानी जानी अपुरो बनाइएको हो । अनुसन्धानलाई गहिराईमा पुग्नै दिइएन र पर्याप्त मात्रामा टुल्सहरु प्रयोग गर्न नपाएकोले धेरै प्रश्नहरु नै अनुत्तरित छ । अनधिकृत व्यक्ति प्रवेश गरेको हो कि होइन त्यो अनुत्तरित छ। होइन भन्ने आधारहरु छैन । अरु परिस्थितिजन्य कारणहरुले अनधिकृत व्यक्ति आएको हो भन्ने प्रस्टसँग देखिन्छ । त्यसका लागि थप अनुसन्धान जरुरी हुन्छ। गम्भीर प्रश्न उठिसकेपछि पनि फेरि प्रधानमन्त्रीले पुन: अर्थमन्त्रीमा नियुक्ति गर्नु भनेको नेपाली जनताको संवेदनशीलतालाई अपमान गरेको ठान्दछु ।’

बजेट निर्माणको क्रममा अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश दिएको विषयमा सार्वजनिक भएपछि असार २२ मा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठन गरेका थिए । ११ सदस्यीय समितिमा एमालेबाट प्रतिनिधित्व गर्ने ज्ञवालीसहित चारजना सांसदहरुले अनुसन्धान अधुरो रहेको भन्दै फरक मत राखेका थिए ।

गत शुक्रबार समितिले प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेको थियो । छानबिन समिति गठन भएपछि राजीनामा दिएका शर्मालाई आज प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गर्नुभएको छ ।