अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल र प्रचण्डले जनतामाथि गम्भीर घात गरे : महासचिव पोखरेल

माधव नेपाल र प्रचण्डले जनतामाथि गम्भीर घात गरे : महासचिव पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख नेताहरु नै पार्टी छाडेर जाँदासमेत नेकपा एमालेको जनमत नघटेको बताउनु भएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबिरुद्ध ठूलो घेराबन्दी गरे पनि लोकप्रिय मतका आधारमा एमाले नै पहिलो दल बनेको महासचिव पोखरेलले बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै महासचिव पोखरेलले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनमा एमालेको जनमत बढेको छ । लामो समय पार्टीको नेतृत्व गरेका माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमले पार्टी छाडदा पनि एमालेको भोट घटेको छैन ।’

महासचिव पोखरेलले अवसरवादले माधव नेपाल समाप्त भएको दृष्टान्त पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘अवसरवादले माधव नेपाल समाप्त भए । कस्तोसम्म देखियो भने एमालेले लामो मेहनत गरेर विधि र पद्धती मान्ने नेताका रुपमा, समन्वयकारी नेताका रुपमा छवि बनायो तर अवसरवादले समन्वयकारी नेता पार्टी विभाजनकारी नेताका रुपमा कलंकित हुनुभयो । विधि, पद्धती र अनुशासन पालना गर्ने नेता माधव नेपाल संसदीय इतिहासमै सवैभन्दा बढी ह्वीप उलंघन गर्ने नेताका रुपमा कलंति हुनुभयो । नेपाल सम्पुर्ण रुपमा समाप्त हुनु भयो । अवसरवाद कस्तो हुन्छ भने कुरा दुनियाँलाई प्रमाण भयो ।’

महासचिव पोखरेलले गठबन्धनले मुलुक बनाउने नभई बिगार्ने काम गरिरहेको बताउनुभयो । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मात्रै मुलुक बन्ने तथ्य बुझेर एमाले र ओलीलाई छेक्नका लागि मात्रै गठबन्धन बनाइएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘गठबन्धन कुनै सिद्धान्तका आधारमा बनेको होइन, यो त देशलाई बर्वाद बनाउनका लागि हो । हामी नमिले फेरि केपी ओली आउँछन् र विकाशका काम अघि बढाउँछन् भन्ने त्रासको मिलन मात्रै हो ।’

महासचिव पोखरेलले आफ्नो कामको शैली बदल्न पनि युवाहरुलाई सुझाव दिनुभयो । आजको युवा ज्यादा सुविधाभोगी भयो कि भन्ने बुझाइमा समाज रहेको भन्दै युवा संघले साँच्चीकै बदलेर देखाउनु पर्ने बताउनु भयो । यस्तै युवाहरु पनि सामाजिक सञ्जालका हल्का टिकाटिप्पणीबाट हामी बढी प्रभावित हुने गरेका उहाँले बताउनु भयो ।

‘युवाहरु पनि सामाजिक सञ्जालका हल्का टिकाटिप्पणीबाट हामी बढी प्रभावित हुने गरेका छौं, समाजको दिशा तय गर्ने भनेको सामाजिक सञ्जालको हल्का टिप्पणीले होइन, समाजको सकारात्मक बाटो भनेको ज्ञान सिद्धान्तको सश्लेषणबाट हो, समाजको आवश्यकताबाट हो,’ पोखरेलले भन्नुभयो, ‘समाजलाई बदल्ने हो भने, समाज परिवर्तनको नेतृत्वकर्ताको रुपमा स्थापित हुने हो भने फरक ढंगले प्रस्तुत हुनुपर्छ ।’