काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सरकारले प्रमुख प्रतिपक्षसँग कुनैपनि विषयमा सल्लाह नगर्ने र सोधेको प्रश्नको उत्तर नदिएको आरोप लगाउनु भएको छ ।
नेपाल निजामति कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नागरिकता विधेयक, निजामति ऐन, प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव जस्ता विषयमा सरकारले प्रमुख प्रतिपक्षसँग कुनै पनि छलफल नगरेको बताउनु भएको हो ।
उपाध्यक्ष नेम्वाङ भन्नुहुन्छ, ‘फुल हाउसले महाभियोग समितिलाई काम नदिइ सदन स्थगित भएकाले प्रधानन्यायाधीश झुण्डेका झुण्डै हुनुहुन्छ निलम्बनमा । अर्को एकजना मित्र कार्यवहाक हुनुहुन्छ यो कति गम्भीर कुरा हो ? प्रधानन्यायाधीशमाथि छानविन गर्न संसदले समिति बनाए पनि समितिलाई काम गर्न दिएको छैन ।’
नेता नेम्वाङले प्रमुख प्रतिपक्ष के गरेर बसेको छ ? भनेर प्रश्न उठ्ने गरेपनि चुप लागेर भने नबसेको बताउनु भयो । उहाँले नागरिकता विधेयक जस्तै तीन वर्ष लगाएर बनेको निजामति विधेयक फिर्ता लिएर सरकार गायव भएको बताउनु भयो ।
‘अहिलेसम्म निजामति कर्मचारीसम्बन्धि विधेयक आउने सुरसार छैन । हामी प्रश्न उठाएका उठायै छौ । माननीय लालबाबु पण्डितलाई हामीले विशेष समय लिएर उठाउन लगायौ, ‘उहाँले प्रश्न उठाउनुभयो तर सरकार उत्तर नै दिदैन । केही बोल्दैन ।’
उपाध्यक्ष नेम्वाङले निजामति विधेयकमा सरकारलाई दवाव दिने पनि बताउनु भयो ।





प्रतिक्रिया