काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलिय सत्ता गठबन्धन सरकार माफियाको भएको बताउनु भएको छ ।
महंगी र भ्रष्टाचारविरुद्ध एमालेले आज राजधानीमा गरेको विशाल जनप्रदर्शनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भ्रष्टाचार र महंगीविरुद्ध जनता सडकमा आउनुपर्ने बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो, ‘एमाले नेतृत्वको सरकारले ४ प्रतिशतमा कायम राखेको महंगी अहिले बढेर ८ प्रतिशतमाथि पुगेकको छ । यो गठबन्धन सरकारका कारण महंगी बढेको छ, जनताको जीवनस्तर कष्टकर बनेको छ ।’
एमाले नेतृत्वको सरकार ढालेर जनताको विकास र सम्मृद्धिको चाहना समाप्त पार्न खोजिएको महासचिव पोखरेलले बताउनुभयो। यो सरकार अब पनि रहिरह्यो भने नेपाल श्रीलंका बन्ने खतरा रहेको भन्दै उहाँले भन्नुभयो, ‘अदालत सौदाबाजीको केन्द्र बनेको छ, न्याय बिक्री हुन थालेको छ । संसद राष्ट्रविरुद्ध षड्यन्त्र गर्ने स्थल हुन थालेको छ । यो जनताको हितको प्रतिनिधित्व गर्न सक्ने सरकार होइन । माफियाको सरकार हो ।’
अर्थमन्त्री जनार्दन शर्मा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजरमा चोखिए पनि जनताको नजरमा नचोखिने महासचिव पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताले घातक व्यक्तिका रुपमा चिनिएका छन्। जनतामाथि घात गर्नेहरुलाई चुनावको मैदानमा पराजित गर्नुपर्छ ।’





प्रतिक्रिया