काठमाडौ- फेसबुक लाइभमा रमाउने धरानका मेयर हर्क साम्पाङलाई एमाले केन्द्रीय सदस्य एवं मेयरकी प्रत्यासी मञ्जु भण्डारीले साइवर कानुन स्मरण गराउनु भएको छ ।
बराह सहकारीले सदस्यहरुको करोडौं ठगेर सञ्चालक भागेको विषयमा हिजो पिडितहरुले साम्पाङको कार्यकक्ष तोडफोड गरेका थिए । त्यही विषयलाई साम्पाङले भण्डारी र एमालेका कार्यकर्ता लक्षित गर्न खोजेको स्थानीयबासीले बताएका छन् ।
साम्पाङले आज विहान स्थानीय खगेन्द्र नेपालीले आफ्नो प्रोफाइलमा राखेको ‘मञ्जु भण्डारीलाई भोट हाला’ैं भन्ने भण्डारी र सूर्य चिन्हको तस्विर शेयर गर्दै यस्तो लेख्नुभएको छ ‘बराह पिडितलाई उचालेर तोडफोडको अगुवाइ गर्नु हुने कथित संघर्ष समिती संयोजक खगेन्द्र नेपाली ज्यूलाई धराने जनताको करोडौं सलाम !’
साम्पाङले स्टाटस लेखेको झण्डै पाँच घण्टापछि पूर्व उपमेयर समेत रहेकी भण्डारीले आफ्नो फोटो दुरुपयोग गर्दै एमालेलाई समेत लाञ्छित गर्ने काम गरेकोले साइवर अपराधको जानकारी नै नभएको त हैन होला नि भनेर सोध्नु भएको छ । भण्डारीले लेख्नुभएको छ ‘धरानका मेयर हर्क साम्पाङ ज्यू बराह पिडितहरुसँगका तपाईंका प्रसंग जोडेर मेरो फोटो दुरुपयोग गर्ने र एमालेलाई लाञ्छित गर्ने काम किन गर्नुहुन्छ ? तपाईंलाई साइवर अपराधको बारेमा जानकारी नै नभएको त कसरी भनौं ? नगर सरकार प्रमुखले लोकप्रियताका नाममा होस गुमाउदा नगरवासीको शीर निहुरिनेमा सजग बन्नुभयो भने मात्रै धरानवासीको मर्यादा उँचो हुने हो । ’
यो बेलासँग कुरा गर्दै भण्डारीले आफूलाई लोकप्रिय देखाउने नाममा अरुलाई लाञ्छित गर्न नहुने बताउनुभएको छ । ‘त्यसमा पनि सामाजिक सञ्जालबाट चुनावको बेला कार्यकर्ताले प्रयोग गरेको तस्विरलाई गलत अर्थ लाग्ने गरी बिल्कुल फरक प्रसंगमा प्रयोग गर्न सुहाउने कुरा होइन’ भण्डारीले भन्नुभयो ‘सधैं फेसबुक लाइभमा देखिने मेयरले साइबर कानुन पनि थाहा पाउनु प¥यो नि ।’





प्रतिक्रिया