अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरको विभिन्न सडकखण्डमा यातायात अवरुद्ध

मकवानपुरको विभिन्न सडकखण्डमा यातायात अवरुद्ध


मकवानपुर – वर्षाका कारण आएको पहिराले मकवानपुरका विभिन्न स्थानका सडकखण्डमा यातायात अवरुद्ध भएको छ । गए राति वर्षासँगै आएको पहिराका कारण सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।

इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गए राति आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरी मार्ग भएर सञ्चालन हुने सवारीसाधन रातिदेखि नै वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको छ। उक्त सडकमा आज अपराह्नसम्ममा पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।

यस्तै पहिरो जाँदा कान्तिराजपथ पनि अवरुद्ध भएको छ । हेटौँडाबाट ललितपुर हुँदै काठमाडौँ जोड्ने उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ । बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिराका कारण यातायात अवरुद्ध हुने गरेको छ ।

यसैगरी मुग्लिन सडकखण्ड पनि अवरुद्ध भएको छ । विभिन्न स्थानको पहिरो हटाइ हिजो साँझमात्रै सञ्चालनमा ल्याइएको उक्त सडकखण्डमा गए राति फेरि पहिरो जाँदा यातायात अवरुद्ध भएको हो । पहिराका कारण मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि पूर्व र पश्चिम क्षेत्रबाट काठमाडौँतर्फ जाने दिवासेवाका बसलाई आवश्यकता हेरेर त्रिभुवन राजपथबाट काठमाडौँ जान अनुमति दिइएको छ ।

उक्त राजपथको विभिन्न सडकको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनगर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म आवश्यकता हेरेरमात्रै बस त्रिभुवन राजपथबाट सञ्चालन गर्न दिइने बताइएको छ । रात्रिसेवाको बसलाई भने उक्त सडकखण्डबाट सञ्चालन गर्न रोक लगाइएको छ ।