अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

ऋण तिर्न बाँकी छ, मूल्य घटाउन सकिँदैन : आयल निगम

ऋण तिर्न बाँकी छ, मूल्य घटाउन सकिँदैन : आयल निगम


काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद मूल्यमा सामान्य गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने प्रष्ट पारेको छ ।

निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोल, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा भए पनि नेपाल सरकारबाट लिएको ऋण र इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई बक्यौता भुक्तानी गर्नुपर्ने भएकाले मूल्य समायोजन नहुने जनाएको हो ।

आइओसीबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ७८ पैसा नाफा तथा डिजेलमा प्रतिलिटर नौ रुपैयाँ ३७ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर चार सय ९९ रुपैयाँ ५७ पैसा घाटा रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिनुभयो । निगमलाई मट्टितेल र हवाई इन्धनमा भने यसअघि नै नाफा रहेको छ।

पेट्रोलियम पदार्थको बिक्रीबाट मासिक रु एक अर्ब २७ करोड घाटा हुने निगमको प्रक्षेपण छ । सरकारसँग लिइएको ऋण, आइओसीलाई तिर्नुपर्ने बक्यौता तथा मासिक एक अर्ब बढी घाटा भएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत नै राख्नुपरेको उहाँले बताउनुभयो ।

निगमले आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापत भुक्तानी गर्नुपर्ने रकम अपुग भएपछि सरकारसँग रु सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट रु तीन अर्ब ऋण लिएको थियो। निगमले अझै आइओसीलाई रु २३ अर्ब भुक्तानी गर्न बाँकी छ ।