दमक- कृषीबाटै समृद्धि सम्भव छ भन्ने अठोटले सुरु गरेको एउटा नमुना गाइर्फममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेपछि सञ्चालकहरु उत्साहित भएका छन् ।
आफ्नो गृह नगरको दमक १० स्थित पाथिभरा गाई फर्ममा अध्यक्ष ओलीले जिल्ला भ्रमणका समयमा साउन १३ गते करिब एक घण्टा समय बिताउनुभयो । आधुनिक प्रविधिको गोठ सहित एक दशक अघि सुदिप गौतम दम्पतीले सुरु गरेको यो फर्म प्रदेश नं १ कै नमुना मानिन्छ ।
सञ्चालक सीता पाण्डेका अनुसार फर्ममा अहिले २ सय १३ वटा गाई छन् । ‘अहिले हाम्रो फर्ममा दैनिक १५ सय देखि १६०० लिटरसम्म दुध उत्पादन हुन्छ’ अध्यक्ष ओलीलाई आफ्नो गोठमा पाएपछि उत्साहित हुँदै गौतम दम्पतीले सुनाए ‘हाम्रो गोठको दुध पोखरासम्म माग हुन्छ । हप्तामा तीन दिन पोखरा पठाइरहेका छौं ।’

स्थानीय बजारमा मात्र होइन देशका विभिन्न भागबाट समेत दुधको माग हुने गरेको उहाँहले अध्यक्ष ओलीलाई गराउनुभयो ।
उन्नत नस्लका लागि विगत सात वर्ष देखि अमेरिकाको एविएस सिमेन (सेक्स सिमेन) प्रयोग गरेर गाईलाई गर्भधान गराउने गरिएको छ । यस्तो बीउबाट उत्पादन भएका गाईले ५६ लिटरसम्म दुध दिने गरेको सञ्चालक सुदिप गौतमले बताउनुभयो ।
आधुनिक गोठ सहितको गाई फर्म हेरेपछि अध्यक्ष ओलीले पाथिभरा गाई फर्म स्वदेशमै उद्यम गर्न चाहने युवाका लागि नमुना भएको बताउनुभएको छ । ‘अध्यक्षज्यूलाई हामीले दीर्घकालिन रुपमा फर्म बिस्तारका केही योजनाहरु पनिन सुनायौं’ गौतमले भन्नुभयो ‘हाम्रो योजना सुनेर अध्यक्षज्यू सकारात्मक हुनुभएको छ । ।’
देशको पूर्वप्रधानमन्त्री आफ्नो फर्म निरीक्षणमा आउँदा आफूहरुले गरिरहेको काममा थप प्रेरणा मिलेको बताएका छन् ।
प्रतिक्रिया