अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रज्ञा-प्रतिष्ठानले नेपाली लोकनाटक प्रकाशन गर्‍यो

प्रज्ञा-प्रतिष्ठानले नेपाली लोकनाटक प्रकाशन गर्‍यो


काठमाडौं- नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली लोकनाटक’ प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस कृतिमा नेपालको सातै प्रदेशको प्रतिनिधित्व हुने खालका ३० ओटा लोक नाटकहरूलाई एकै ठाउँमा समेटेर प्रकाशन गरेको छ ।
राजेन्द्रकुमार आचार्यको सम्पादनमा तयार भएको यस कृतिमा लोकनाटकको सैद्धान्तिक स्वरूपका बारेमा जानकारी प्रस्तुत गरी हरेक लोकनाटकको विधातत्त्वका आधारमा विश्लेषणसमेत गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान परियोजनाअन्तर्गत तयार गरिएको यस कृति लोकसाहित्यप्रति चासो राख्ने जोकोहीका लागि बौद्धिक खुराक बन्ने छ । यस कृतिमा सामाजिक, पौराणिक, ऐतिहासिक वा जनश्रुुतिमूलक किंवदन्तीमा आधारित र अन्य गरी चार प्रकारका ३० ओटा लोकनाटकहरूको मूलपाठ र विश्लेषण एउटै ठाउँमा पाइने हुनाले यसबाट ज्ञान र मनोरञ्जन दुवै प्राप्त हुने देखिन्छ । प्रस्तुत कृतिमा नेपाली सामाजिक लोकनाटकअन्तर्गत कठै खोली झरिम्, कात्तिकनाच, बालो नचाउने, रोपाइँ जात्रा, सती ढाल्ने, सराएँ खेल, हिम्पै वा ह्युपा र हुड्केली गरी आठओटा लोकनाटकहरू समावेश भएका छन्, नेपाली पौराणिक लोकनाटकअन्तर्गत कृष्णचरित्र ९भजन शैली), कृष्णलीला (तिजगीत शैली), कृष्ण–सुदामा, दशावतार, ध्रुवलीला, प्रह्लाद चरित्र, फागु, रामलीला, श्रवणकुमार र हरिश्चन्द्र गरी दशओटा लोकनाटकहरूको सविस्तार चर्चा गरिएको छ, नेपाली ऐतिहासिक वा अनुश्रुति किंवदन्तीमूलक लोकनाटकअन्तर्गत गोपीचन्द्र, गोपीचन्न, घाटु, जटजटिन, भुवो, भैलो, माधोनल–कामकबन्डला, सुनकेशरी र सोरठी गरी नौओटा लोकनाटकको सङ्कलन र विश्लेषण गरिएको छ भने अन्त्यमा चमढाल, जिउँती वा रत्यौली र पुतली खेल जस्ता तीनओटा अन्य विषयक लोकनाटकहरूको सामान्य परिचय प्रस्तुत गरिएको छ ।
यसका साथै ‘नेपाली लोकवार्ताकोश’, ‘नेपाली लोकपरम्परामा महिला’, ‘सन्थाली लोकगीत’ ‘कर्णाली प्रदेशका देउडा’ ‘काठमाडौँ उपत्यकाका लोकगीत’, ‘ताजपुरिया संस्कारगीत’ जस्ता कृतिको अनुसन्धान, सङ्कलन, लेखन र सम्पादन कार्य सम्पन्न भइसकेको र ती सबै कृति निकट भविष्यमा प्रकाशन हुने कुराको जानकारी विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपालले दिनुभएको छ । उहाँले नेपाली लोकजीवनमा युुगौँयुुगदेखि अलिखित सम्पदाका रूपमा रहेका लोकसामग्रीहरूलाई खोजेर प्रकाशन गर्ने योजनाअनुसार यो कार्य सम्पन्न भएको र यसले विभिन्न विश्वविद्यालयहरूमा लोकसाहित्यको अध्ययन, अध्यापन कार्यमा संलग्न विद्यार्थी र प्राध्यापकहरूलाई मात्र नभएर लोकसाहित्य र संस्कृतिका अध्येता र सर्वसाधारण पाठकलाई पनि बौद्धिक खुराक प्रदान गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
लोकनाटकको सिद्धान्त, विश्लेषण र मूल पाठ सबै समेटिएको २३६ पृष्ठ र २६५ मूल्य रहेको प्रस्तुत कृति नेपाल प्रज्ञा–प्रतिष्ठानको विक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलहरूमा प्राप्त गर्न सकिने कुराको जानकारी प्राज्ञ सभा सदस्य तथा सञ्चार प्रमुख शशी लुमुम्बूूले दिनुभएको छ ।