काठमाडौ- सरकारले आगामी मंसिर ४ गतेलाई संघीय र प्रदेशको निर्वाचन मिति तय गरेपछि कसकसले कहाँबाट उम्मेद्वारी देलान्÷पाउलान् भनेर सर्वत्र चासो बढेको छ । आगामी निर्वाचनमा गठबन्धन एकातिर एमाले अर्कातिर भएपनि एमालेको पक्षमा माहोल देखिन्छ । जुन कुरा भर्खरै सम्पन्न भएको स्थानीय तहमा एमालेले ल्याएको मतबाट पनि थाहा हुन्छ । जहाँ काँग्रेसले ३३ प्रतिशत मत ल्याउदा एमालेले ३४ प्रतिशत मत ल्याएको थियो ।
आगामी चुनावलाई एमालेले ‘परमादेशका विरुद्ध जनादेश’ भन्ने नारा अघि सार्ने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका जनहितका कामका विरुद्ध परमादेशी सरकारले आम नागरिकमा आतंक मच्चिने गरी महंगी बढाउने,भ्रष्टाचार बढाउने र विधीको शासन भन्दा आर्थिक चलखेलमा कयौं कामहरु गरेपछि जनता आक्रान्त छन् । त्यसैले अबको चुनावमा एमाले बहुमत ल्याउने तयारीका साथ चुनावी मैदानमा भिड्दैछ । यसका लागि मूख्य नेतृत्व अर्थात एमालेमा अध्यक्ष ओली सहितका १९ जना सचिवालयमा रहेका नेताहरु कहाँ कहाँबाट चुनाव लड्दैछन् भन्ने आम चासोको बिषय छ । एमालेका नेताहरु माओवादी नेताजस्तो निर्वाचन नै पिच्छे संसदीय क्षेत्र परिवर्तन गर्दैनन् । उनीहरु जनताका समस्यामा साथ दिन्छन् । सकेका काम गर्छन् । नसकेका काम सकेनौ भनेर जनताकै साथ लिन्छन् । ‘हामी जनताका काम सकेसम्म फत्ते गर्छौं । नसकेका काम सकेनौ भनेर उनीहरुलाई भन्छौ तर ढाँटेर र भागेर हिड्दैनौ’ एमालेका एक पदाधिकारी भन्छन् ।
एमालेको सचिवालयमा रहेका नेताहरु मध्ये अध्यक्ष केपी शर्मा ओली साविक निर्वाचन क्षेत्र झापाको ५ बाट निवार्चनमा प्रतिष्पर्धा गर्दैहुनुहुन्छ । उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौ ५ बाटै चुनाव लड्न तयारीमा हुनुहुन्छ । उपाध्यक्ष युवराज ज्ञवाली प्रत्यक्ष निर्वाचन भन्दा पनि समानुपातिक सुचीमा बस्ने इच्छा रहेको निकटस्थहरुलाई भन्ने गर्नु भएको छ । उहाँले आफू समानुपातिकमा बसेर दाङबाट महासचिव शंकर पोखरेललाई चुनाव जिताउने अभियानमा लाग्ने योजना रहेको छ । यस्तै २०७४को निर्वाचनमा प्रदेशसभामा प्रतिष्पर्धा गर्ने एमालेकी हाइप्रोफाइल उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि यसपाली समानुपातिकमा बस्ने कि भनेर निकटहरुसँग छलफल थाल्नु भएको छ । मुख्यमन्त्री सुनिश्चित भए साविककै प्रदेशसभामा निर्वाचन लड्ने उहाँको योजना छ । अर्का उपाध्यक्ष रामबहादुर थापाले नयाँ निर्वाचन क्षेत्र खोज्नु पर्नेछ । यस अघि राष्ट्रिय सभा सदस्य भएका कारण थापाले प्रत्यक्ष निर्वाचन लड्नु भएन । गृहजिल्ला चितवन भएका थापालाई एमालेका स्थानीय नेताहरु माओवादी अध्यक्ष प्रचण्डसँग चितवन ३ मा चुनाव भिडाउन चाहन्छन् । माओवादी पृष्ठभूमीका थापालाई माओवादीका कार्यकर्ताले पनि मत पाउने भएपछि प्रचण्ड हराउन र थापाले जित्न सजिलो हुने तर्क पनि छ । तर थापाको मतदाता नामावली चितवन १ मा रहेकोले त्यहींबाट प्रतिष्पर्धा गर्ने भनेर छलफलमा हुनुहुन्छ ।

अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देहीको साविककै निर्वाचन क्षेत्र नं २ बाट प्रतिष्पर्धा गर्दैहुनुुहुन्छ । अर्का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलामको क्षेत्र नं २ बाट निर्वाचन भिड्दै हुनुहुन्छ । उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवनको साविकको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । त्यहाँ अर्को नेता जेएन थपलीयाले पनि टिकट उम्काउने प्रयास गरिरहनु भएको स्थानीय नेताहरु बताउछन् ।
एमालेका महासचिव शंकर पोखरेल अघिल्लो निर्वाचनमा भारी मन लिएर प्रदेशसभाको उम्मेद्वार हुनुभएको थियो । तर यसपाली उहाँ संघीय साँसदका लागि दाङ क्षेत्र नं २ बाट निर्वाचन लड्दैहुनुहुन्छ । उहाँले सम्भवत पूर्वसभामुख माओवादी नेता कृष्णबहादुर महरालाई हराउनु पर्नेछ । एमालेका तीनजना उपमहासचिव मध्ये प्रदिप ज्ञवालीले गुल्मी १बाट संघीय साँसदका लागि प्रतिष्पर्धा गर्नुहुनेछ । अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ यसपाली पनि लम्जुङ ख बाट प्रदेशसभामै प्रतिष्पर्धा गरेर फेरी गण्डकी प्रदेशको मूख्यमन्त्री हुने योजनामा रहेको निकटस्थहरु बताउछन् । विगत निर्वाचनमा एमालेकै भोटले जितेका माओवादीका देव गुरुङलाई पराजित गरेर संघीय संसदमा आउने उहाँको चाहना रहेको पनि अर्काथरीको धारणा छ । अर्का उपमहासचिव एवं पार्टीको निर्वाचन विभागका प्रमुख विष्णु प्रसाद रिमालले निर्वाचन क्षेत्र खोज्ने भन्दा पनि समानुपातिक प्रणाली रोज्नु हुुन्छ भन्ने धेरैको अनुमान छ ।

एमालेका सात जना सचिवहरु मध्ये टोपबहादुर रायमाझीले पुरानै क्षेत्र अर्घाखाँचीबाट निर्वाचनमा प्रतिष्पर्धा गर्दैहुनुहुन्छ । त्यस्तै लेखराज भट्टले कैलालीको ४ नं क्षेत्रबाट निर्वाचन लड्दैहुनुहुन्छ । अर्का सचिव गोकर्ण विष्ट गुल्मीको क्षेत्र नं २ बाट प्रतिष्पर्धा गर्दैहुनुुहुन्छ । सचिव योगेश भट्टराईले गत निर्वाचनमा प्रतिष्पर्धा गरेकै ठाउँ ताप्लेजुङबाट निर्वाचन लड्नुहुनेछ । पार्टीका स्थानीय नेताहरुको आन्तरिक व्यवस्थापन बाहेक अरु चुनौती उहाँलाई देखिदैन । सचिव छविलाल विश्वकर्मा रुपन्देही १ बाट निर्वाचनमा प्रतिष्पर्धा गर्दैहुनुुुहुन्छ । अर्का सचिव रघुबीर महासेठ धनुषाको ४ बाट निर्वाचनमा भिड्दैहुनुहुन्छ । एक मात्र महिला सचिव पद्मा अर्याल प्रत्यक्षमा उठ्ने हो कि समानुपातिकमा जाने परामर्शमा रहेको उहाँ निकटहरुको भनाइ छ । अघिल्लो पटक स्याञ्जा २ बाट निर्वाचन जितेकी अर्याल प्रदेशसभामा जाने चर्चा पनि सुनिएको छ ।





प्रतिक्रिया