अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ढाल्न प्रचण्ड र माधव कांग्रेसको बींड बने : अध्यक्ष ओली

एमाले ढाल्न प्रचण्ड र माधव कांग्रेसको बींड बने : अध्यक्ष ओली


ललितपुर – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई बन्चरो, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई त्यसको बिँडको रुपमा ब्याख्या गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष ओलीले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शिर गरेर हेर्न नसक्ने बनाइ दिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बींड बनेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले बिँड बिनाको बन्चरोले रुख ढाल्न नसक्ने र एमाले रुपी रुख ढाल्न प्रचण्ड र माधव नेपालले बिँडको भूमिका खेलेको बताउनु भयो ।

दुई तिहाईको कम्युनिष्ट सरकार तिनै बिँडले ढालेको भन्दै प्रचण्ड र माधव नेपालको पछि लाग्ने कार्यकर्तालाई कम्युनिष्ट पार्टी सिध्याउने बिँडको भूमिकामा नलाग्न सम्झाउने अभियान थाल्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले रुख बन्चरोको कथा समेत सुनाउनु भयो:

एमाले अध्यक्ष ओलीको भनाई जस्ताको तस्तै : 

हिजोपनि मैले एक ठाउँमा भनेको थिए । बन्चरो लिएर एकजनाले रुख ढाल्न थालेछन् । वरिपरिका रुखहरू आँसु खसालेर रुन लागेछन् । अरु रुखहरूले सोधे किन यसरी आँसु खसाएर रुन थालेको ? आखिर ढल्नु त छँदैछ । अब ८ अर्बपछि केही बीचमा भएन भने, बीचमा भयो भने त ध्वस्त भइहाल्छ, केही नभई यसै शान्त ढंगले चल्ने हो भने ८ अर्ब वर्षपछि यो पृथ्वी समाप्त हुन्छ । अब ८ अर्ब वर्षमात्र बाँकी छ । यो पृथ्वी वैंशमा छ अहिले । कुनै दुर्घटना भए बैंशमा पनि जान सक्छ । भएन भने पनि ८ अर्ब वर्षपछि त खत्तम हुन्छ ।

त्यो भन्दा छ– सात अर्ब बर्ष अगाडि नै मानवजाति समाप्त भइसकेको हुन्छ । यो सौर्य मण्डल नै समाप्त हुन्छ भने कसैले काटेर ढाल्न लाग्यो भनेर किन पिल–पिल आँशु खसाएको भनेर वरिपरिका रुखले सोधे । अनि देख्नेहरुले भने फलामको बञ्चराले रुखहरू काट्यो ठूलो कुरा हैन । तर हामीलाई काट्ने बञ्चराको बिँड चाहिँ हामी जस्तै काठैको छ त्यो चाँही दुःखको कुरा हो भन्यो । अहिलेको राजनीति त्यस्तै छ । 

काँग्रेसका बिँड चाहिँ कस्ता छन् हेर्नुहोस त ? एमाले ढाल्ने, एमाले काट्ने, एमाले सिध्याउने बिँडका नाम चाँही कस्ता कस्ता छन् ? त्यही भनेर रुख बर बर आँशु खसाल्दो रहेछ । ढल्नुपर्यो, जानुपर्यो भन्ने पीर हैन, बञ्चराले मात्र रुख ढाल्नै सक्दैन तर बिँड नभई । घोट्दा पनि हुँदैन केही गर्दा पनि हुँदैन बिँड नभई । अहिले बिँडको कारणले बञ्चरो चम्केको छ । काँग्रेसलाई हामीले जम्मा २३ सिटमा पुर्याइदिएका थियौं २३ सिटमा । 

काँग्रेसले हामीलाई ढाल्ने त कुनै छोडौं हेर्न नसक्ने स्थितिमा पुर्याइदिएका थियौँ । यिनै बिँड हुन् जसले कम्युनिष्ट पार्टी फुटाएर, अदालत गएर, कम्युनिष्ट सरकार ढालीपाँउ, दक्षिणपन्थी सरकार ढालीपाँउ, त्यसका लागि परमादेश जारी गरिपाऊँ भन्ने यिनै बिँड हुन् । त्यो अवस्थामा हामी छौँ ।  चुनाव आउँदैछ यो नेता के के गठबन्धन गर्दैछन् छोडिदिँउ तर माओवादी पछाडि लागेका कार्यकर्ता र माधव नेपाल पछाडि लागेका कार्यकर्तालाई भन्नु पर्दछ काँग्रेसका बिँड भएर कम्युनिष्ट सिध्याउने कि कम्युनिष्ट पार्टीलाई जोगाउने भनेर सम्झाउनुपर्दछ र फर्काउनु पर्दछ ।