काठमाडौँ – नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा निकट चिकित्सकलाई सेवामा निरन्तर राख्नका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अवकाशको उमेर हद बढाउने निर्णयको विरोध गर्नुभएको छ ।
प्रधानमन्त्री देउवा निकट ६० वर्षीय डा. रवि मल्लको सेवा अवधि बढाउनका लागि शनिबार अवकाशको उमेरहद ६० बाट ६३ वर्ष पुर्याइएको थियो ।
प्रतिनिधिसभाको आजको बैठकमा भट्टराईले उक्त चिकित्सकको नागरिकता खिचेर उमेर घटाई ४० वर्ष पुगेको नगारिकता बनाउन भन्दै सरकारप्रति व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो, ‘गंगालाल अस्पतालमा कार्यरत एकजना चिकित्सकको भोलि २३ गते समयावधि सकिँदै थियो, ६० वर्षको उमेरहदले । प्रधानमन्त्रीको ठाडो निर्देशनमा हिजो मात्रै शनिबारको दिन स्वास्थ्यमन्त्रीको अध्यक्षतामा बैठक बसेर अवकाशको उमेर हद ६३ वर्ष रहने गरी नियमावली संशोधन गरेको छ । म यो गठबन्धन सरकारलाई प्रश्न गर्न चाहन्छु, यो एक कुर्सी छ चारजना डिफ्याक्टो प्रधानमन्त्री भएको बहादुर सरकार छ । उसले चाह्यो भने ६३ वर्ष गराइदिन सक्छ चाह्यो भने ८० वर्ष गराइदिन सक्छ । यति बलियो र बहादुर सरकार, त्यो चिकित्सकको नागरिकता खिचेर ४० वर्षको नगारिकता बनाइदिउँ । त्यसो भयो भने उहाँले अर्को २० वर्ष जागिर खान पाउनुहुन्छ ।’
स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले अवकाशको उमेरहद ६३ वर्ष पुर्याउने निर्णय गरेको थियो ।





प्रतिक्रिया