काठमाडौं – नेकपा एमालेकी सचेतक शान्ता चौधरीले महंगीले जनताको ढाड सेक्दा पनि सरकार मुकदर्शक मूकदर्शक बनेको बताउनु भएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् चौधरीले महंगीको नाममा नेपालमा भोकमरी आउने र अमन चैन विथोलिने खतरा बढेको बताउनुभयो ।
उहाँले मूल्यवृद्धि हुँदा पनि सत्तारुढ दलका नेताहरु पनि मौन बसेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजार भाउ असाध्यै बढेको छ, बजार भाउ बढ्दा वर्तमान सरकारले टुलुटुलु हेरेर बसेको छ । नेपालमा पनि एक झोला सामान किन्न एक झोला पैसा लिएर जानुपर्ने अवस्था आउन सक्छ, धनीले त किनेर खान सक्लान, महंगीले गरिबको चुलो नबोल्ने अवस्था आउन सक्छ, महंगीको नाममा भोकमरी आउन सक्छ, यसले समाजको अमन चैन विथोल्ने खतरा हुन सक्छ ।’
आम सर्वसाधारण नागरिकहरु कसरी बाँचिरहेका छन् भन्नेमा गठबन्धन सरकारको ध्यान नगएको उहाँको भनाई छ ।
सरकारको ध्यान महंगी नियन्त्रण गर्नुको सट्टा गठबन्धन खुस्किन्छ भन्नेतिर रहेको पनि सांसद् चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको काम महंगीको साक्षी बस्ने होइन, त्यसलाई नियन्त्रण गर्ने हो । नेपाली कांग्रेस लगायत खुल्ला बजार अर्थनीति यसको प्रमुख कारण हो । किसानले आफ्नो लगानी उठाउन नसक्ने बजारमा पुग्दा महंगो हुनु यो सरकार दलाल पूँजीवादको साक्षी बस्नु हो । महंगी नियन्त्रण गर्ने भन्दा पनि गठबन्धन खुस्किन्छ कि भनेर बसेको छ ।’
प्रतिक्रिया