अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको झापा बसाईः कार्यकर्ताको अन्तरविरोध साम्य हुँदै,फाटेका मनहरु जोडिदै

अध्यक्ष ओलीको झापा बसाईः कार्यकर्ताको अन्तरविरोध साम्य हुँदै,फाटेका मनहरु जोडिदै


सरकारी मोर्चामा रहेका नेताहरू गठबन्धन जोगाउने र निर्वाचनमा सिट बाँडफाँडमा अल्झिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ११ साउनमा काठमाडौंको चिसोबाट झापाको गर्मीमा झर्नुभयो । खासगरी दुई महीना अघि भएको स्थानीय तहको निर्वाचनमा गृहनगर दमक, छिमेकी कमल गाउँपालिकामा एमालेको पराजयपछि कार्यकर्ताको अन्तरविरोध साम्य पार्न र तल्लो तहका कार्यकर्ताबाट ‘फस्ट हेण्ड रिर्पोटिङ’ लिने उद्देश्यले यो भ्रमण भएको थियो । दमक मुकामका करीब ६० घण्टामा पाँचसय जति मानिसहरूलाई एक्लाएक्लै भेट्दा वा क्षेत्रका चार पालिकाका चारैवटा कार्यकर्तासभामा सहभागी हुँदा  आफूप्रतिको क्रेज झनै बढेको अध्यक्ष ओलीको बुझाइ छ ।

बहुदलीय व्यवस्था र लोकतन्त्रका लागि १४ वर्षको जेल जीवनपछि २०४८ सालमा तत्कालिन झापा निर्वाचन क्षेत्र–६ (हाल ५) मा उम्मेद्वार भएका ओलीलाई यहाँका मतदाताले दुख-सुख दुवैमा देखेका छन् । त्यतिबेला कपडाको झोला भिरेर रात्री बसमा यात्रा गर्ने खड्ग प्रसाद ओलीको रूपमा होस वा प्रधानमन्त्रीको रूपमा हेलिकप्टरबाट दमक झर्ने केपी शर्मा ओलीको रूपमा होस । यहाँका मतदाता ओलीकै वरीपरी छन् । २०६३ सालमा मृगौला फेरेर तंग्रिनसक्दै २०६४ सालको संविधानसभाको निर्वाचनमा यहाँका जनताले ओलीलाई अनुमोदन गरेनन् । चुनाव परिणाम लगत्तै ओलीको भनाइ थियो– ‘झापा ७ का जनताले ठूलो गल्ती गरे । यहाँ म हार्नु यस क्षेत्रको विकास वर्षौ पछि धकेलिनु मात्र होइन संविधान बनाउन नसक्ने संविधानसभा गठन हुनु हो ।’ त्यो समयको १५ वर्ष बित्यो । तर ओलीले यसपाली पनि दमक नगर पार्टी कार्र्यालयमा आयोजना गरिएको कार्यकर्ता भेलामा उही कुरा दोहो¥याउनुभयो । उहाँकै शब्दमा यो यस क्षेत्रका जनताले त्यो बेला गरेको ठूलो गल्ती थियो । यसपाली दमक र कमलको पराजयलाई अध्यक्ष ओलीले दोस्रो गल्तीको संज्ञा दिनुभएको छ । सँगै उहाँले कार्यकर्तालाई कडा निर्देशन पनि दिनुभएको छ ‘गल्ती एकपटक हुन्छ । पटक-पटक हुँदैन । त्यसैले अब गल्ती गर्नु छुट कसैलाई छैन ।’

संसारमा कहीं यस्तो पनि होला र– कम्युनिष्टहरूले कम्युनिष्टकै सरकार ढाल्ने, जनमत र जनविश्वासलाई लगेर पूँँजीवादीका पाउमा चढाउने अनि फेरि बाम तालमेलको बेसुरा राग अलाप्ने ? घरमा आगो लगाएर खरानीले झोला भर्नेहरू र अँगेनो भत्काएर आँगन पुर्नेहरूमा के नै फरक रह्यो र ?

दमक कमलको पराजयले मनका मान्छेले आगामी संसदीय चुनावको सम्भावित दुखद् परिणामको कल्पना पनि गरे । कतिपयले अध्यक्ष ओलीसहित स्थानीय नेतृत्वलाई गाली पनि गरे । तर ठूलो छहारीमा ओत लागेर बस्ने बानी भएका यहाँका कार्यकर्ताहरू कहिलेकाहीं नेतृत्व विरुद्ध खनिए पनि अध्यक्ष ओलीको अघि परेपछि नतमस्तक हुने गरेका छन् । दुई पटक देशको प्रधानमन्त्री भइसकेको व्यक्ति, देशको ठूलो पार्टीको अध्यक्षले नामैले बोलाइदिंदा वा अनायासै कहिलेकाहीं फोनको घण्टी बजाइदिंदा यहाँका कार्यकर्तामा अदम्य उत्साह एकैपछिनमा भरिने गरेको छ । यसपालीको तीनदिने क्षेत्र बसाइमा कार्यकर्ताले पनि अध्यक्ष ओलीसँग मनका भडाँस पोख्न पाए भने अध्यक्षले पनि सबैलाई सम्झाइ–बुझाइ गरेर ‘फ्रेस’ पारिदिनुभएको छ ।

मन रहे पो माया प्रिति

कवि आनन्द अधिकारीको एउटा सिर्जना छ- ‘मन रहे पो माया प्रिति……..।’ यसलाई यम बरालले गीतको रूपमा पनि गाएका छन् । त्यही सिर्जनाले भने जस्तै बनाएर गए केही कांग्रेसको फेर समातेर, अनि भत्काए नेपालमा पहिलो पटक बनेको झण्डै दुई तिहाइको बाम सरकार । कम्युनिष्टको नाम र झण्डा राखेर राजनीतिको गोदाम चलाउने अनि, दर्शन–सिद्धान्तलाई पूँजीवादको चास्निमा लगेर लोभले पछि कहाँ रहयो मन, कहाँ रहयो माया प्रिति, माक्र्सवाद र समाजवादप्रति ? संसारमा कहीं यस्तो पनि होला र– कम्युनिष्टहरूले कम्युनिष्टकै सरकार ढाल्ने, जनमत र जनविश्वासलाई लगेर पूँँजीवादीका पाउमा चढाउने अनि फेरि बाम तालमेलको बेसुरा राग अलाप्ने ? घरमा आगो लगाएर खरानीले झोला भर्नेहरू र अँगेनो भत्काएर आँगन पुर्नेहरूमा के नै फरक रह्यो र ? पार्टी भित्र यदि विधि, प्रकृया, शैली, स्वरूप नमिलेको भए पार्टीकै अभ्यास र अभियानबाट रूपान्तरण गर्ने कि आफूले रोजेको खाट नपाउँदा घरैमा आगो लगाउने ? यसको जवाफ नागरिकहरूले खोजिरहेका छन् । यसको जवाफ  प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दिइनै रहनुभएको छ ।

ओलीको झापा मिशन

एमाले अध्यक्ष ओलीको राजनीतिक गृह जिल्ला झापा हो । बहुदलीय व्यवस्था पछिका हरेक संसदीय निर्वाचन उहाँले झापाबाट निरन्तर चुनाव जित्नु भएको छ । तर २०६४ सालको  संविधानसभाको निर्वाचनमा तत्कालिन झापा क्षेत्र–७ को निर्वाचन उहाँका लागि अपवाद बन्यो। ‘मेची अञ्चल चार जिल्ला, चारै जिल्ला लाल किल्ला’ झापा जिल्ला लाल किल्ला भनिदै आएको अरू लालहरूले जितेर होइन । एमालेले नै जितेर यो नारा ‘क्वाइन’ गरिएको थियो । हुन त, पहिलो संविधानसभामा ओलीलाई हराउने पनि लालझण्डावालानै थिए ।

२०६४ मा क्षेत्र नं ७ का जनताले ठूलो गल्ती गरेको अध्यक्ष ओली अझै पनि भनिरहुनुहुन्छ ।  ‘त्यस बेलाको झापा ७ मा एमाले हार्दा के–के भयो । त्यसबेला तपार्ईंहरूले जिताएर पठाएका सांसद कहाँ छन् यतिबेला ? त्यतिबेला गरेको गल्ती सच्याउन ६ वर्ष लाग्यो ।’

२०६४ को दृष्टान्त १५ वर्षपछि सम्झिनुको कारण चाहिं अस्तीको स्थानीय तहको निर्वाचनमा एमाले दमक कलममा हारेर हो । हारेको छ । बहुमत वडाअध्यक्ष, कार्यपालिका सदस्य जिते पनि प्रमुख र उपप्रमुख एमालेले गुमाए पछि हारको कारण कति आन्तरिक र कति बाह्य भन्ने कुरा अहिले एमालेभित्र मिहिन छलफल भइरहेको छ । तर अध्यक्ष ओली प्रष्ट हुन्छ ‘यी हारहरू अन्तरघातका उपज हुन् ।’

स्थानीय निर्वाचनमा आफ्नो गृहक्षेत्रमा पर्ने दमक नगरपालिकामा प्रमुख र उपप्रमुख गुमाउनु, पुरानो बामपकड क्षेत्र कमल गाउँपालिकामा अध्यक्ष र केही पद गुमाउनु जस्ता कारणले ओलीले झापा बसाईलाई एउटा मिहिन अध्ययन र कार्यकर्तासँग सघन घुलमिलका लागि नै थियो भन्ने प्रष्ट सन्देश छ । त्यसो त अघिल्लो निर्वाचनमा प्रमुख गुमाएको गौरादह नगरपालिकामा यस पटक एमालेले त्यहाँ जितेको छ । अध्यक्ष ओलीले यसलाई ‘गौरादहले विगतको गल्ती सच्यायो’ भन्ने गर्नुभएको छ । विगतमा प्रमुख, उपप्रमुखसहित धेरैजसो वडाध्यक्ष समेत नपाएको गौरीगञ्जमा यसपटक उपाध्यक्षसहित एमालेले स्थिति सुधार गरेको छ । त्यसैले समग्रतामा गृहक्षेत्रमा राप्रपासहितको ‘महागठबन्धन’ का बाबजुद एमालेले आफ्नो उपस्थितिलाई बलियैसँग कायम राखेको छ । तर बढी घोचेको गृहनगर दमकको विषयले हो । जिल्लाका विभिन्न कार्यक्रमलाई समय दिए पनि ओलीको यसपटकको झापा मिसन गृहक्षेत्र नै केन्द्रित पनि रहयो ।

दमक बसाइका चार उपलब्धी

मेन टु मेन’ भेटको अभ्यास

चार दिनको झापा तथा गृहक्षेत्र बसाईका क्रममा ओलीले बढी भन्दा बढी व्यक्तिहरूसँग भेट गर्ने प्रयास गर्नुभयो । औपचारिकभन्दा अनौपचारीक छलफल र भेटलाई प्राथमिकता राख्नुभयो। ओलीले यसपटक आफ्ना कुरा बढी सुनाउने भन्दा पनि अरूका कुरा बढी सुन्ने प्रयास पनि गर्नुभयो । सचिवालयका अनुसार अध्यक्ष ओली एक रात विर्तामोड बस्नुभयो भने दुई रात एक दिन दमकमा । करीब ६० घण्टाको दमक मुकाममा ओलीले कम्तीमा पाँचसय जना कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्नुभएको छ । अध्यक्ष ओलीसँग एक्लाएक्लैको भेटमा क्षेत्रका समस्या, पार्टीका अन्तरविरोध, अन्तरघातका नायक सबैलाई चिन्ने मौका पाएको निकटस्थहरू बताउछन् । त्यती मात्र होइन नेता नेताबीचको टक्कर, कार्यकर्ताहरूलाई गरिएको गुटबन्दीको विभाजनका बारेमा पनि ओलीले सबै जानकारी लिएर फर्कनु भएको छ । हुन त उहाँले सावर्जनिक कार्यक्रममै दमकको चुनाव कसरी हारियो, कसको भूमिका के रह्यो सबै जानकार छु भनेर पनि भन्नुभयो ।

तर तीन दिनको क्षेत्र बसाइपछि अध्यक्ष ओलीले क्षेत्रमा देखिएका सानातिना कलहका पक्ष विपक्षलाई मिलाएर पार्टीलाई एक ढिक्का बनाउनेमा सबै विश्वस्त भएका छन् ।

धिमालका गुनासा सुनुवाई : दमकको पहिलो जातिको रूपमा रहेको धिमाल जातिका अगुवा र मतदाता स्थानीय तहको निर्वाचनमा केही असन्तुष्ट रहेको गुनासो बाहिरिएको थियो । त्यसैले धिमाल समुदायसँग ओलीले अलग्गै भेट्नुभयो । दमक नगरपालिकाका पूर्व उपप्रमुख एवं अहिलेका कार्यपालिका सदस्य समेत रहेका लोकबहादुर धिमालले अध्यक्ष ओलीसँगको भेटपछि भन्नुभयो– ‘साथीहरूका केही गुनासा थिए, अध्यक्षज्यूले ती विषयलाई गम्भिरतापूर्वक सुन्नुभएको छ । सुन्ने मात्र होइन अब सम्बोधन पनि हुनेमा हामी आशावादी छौं ।’ त्यती मात्र होइन नगरपालिकाका पूर्व उपप्रमुख मोहन धिमाल लामो समयपछि एमाले फर्किने बाचा पनि अध्यक्ष ओलीसँग गर्नुभएको छ ।

पुरानाहरूसँगको भेट : एमाले अध्यक्ष ओलीले केही पुराना बामपन्थी अगुवाहरूसँग पनि भेटघाट गर्नुभयो । पारिवारिक सम्बन्ध समेत रहेका दमक १ का कोमल प्रसाईलाई भेट्न उहाँ घरैमा पुग्नुभयो । प्रसाई केही समयदेखि बिरामी परेर स्वास्थ्यलाभ गर्दैहुनुहुन्छ । यस्तै उहाँले अर्जुनधाराका पुराना योद्धा तिलविक्रम ढकालसँग समेत भलाकुसारी गर्नुभयो । संघर्षका दिनहरू सम्झिनुभयो । अनि पार्टीको वर्तमान अवस्था र भविष्यको लक्ष्य सम्मका कुरा भए । त्यसो त अध्यक्ष कन्काई नगरपालिकामा शोकमा रहेको एक आफन्तको परिवारमा पनि पुग्नुभयो । यस्तै अन्य अनौपचारिक भेटघाटहरूमा समेत उनले केही पुराना अगुवासँग कुराकानी गरे भने भेट नभएका धेरै पुराना योद्धाहरूको सम्झना पनि गर्नुभयो ।

खेलकुददेखि गोठसम्म : यसपालीको क्षेत्र भ्रमणमा ओली राजनीतिक कार्यक्रममा मात्र सिमित रहनुभएन । युवाहरूको अधिक आकर्षणको विषय रहेको खेलकुदका केही ‘ईभेन्टमा’ खेलाडीकै रूपमा आफूलाई प्रस्तुत गर्नुभयो । ७१ वर्ष  पुगेका ओलीमा अझै पनि खेलकुदप्रति रहेको लगाव र चासोले धेरै युवाहरूलाई थप ऊर्जा पनि दियो । एमाले स्थायी कमिटी सदस्य अग्नी खरेलसँग ब्याडमिण्टन प्रतियोगितामा खेल्नुभएका ओलीले पुलहाउमा समेत एकछिन ‘स्टिक’ समातेर खेलाडीलाई ऊर्जा दिनुभयो ।

यस्तै दमकमै रहेको सुदिप गौतम तथा सीता पाण्डे (दम्पती)ले चलाएको गाई फारममा पुगेर अवलोकन गरी कृषि र पशुपालनको वस्तुगत अवस्था बुझ्ने प्रयास पनि अध्यक्ष ओलीले गर्नुभयो । त्यसो त गृहक्षेत्रमा पर्ने कमल, गौरादह र गौरीगञ्जमा भएका अलग अलग औपचारीक कार्यक्रममा समेत पुगि आगामी निर्वाचनको तयारीमा जुट्न ओलीले निर्देशन समेत दिएर नजिकै रहेको ईलामको चुलाचुलीमा पुगि बृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनुभयो ।

ओलीको भ्रमणको राजनीतिक अर्थ

हुन त एउटा सांसदलाई आफ्नो गृहक्षेत्र आउन, कार्यकर्ता भेटघाट गर्न र विकासका काममा सहभागी हुन कुनै साईत पर्खनु पर्दैन । ओली पनि झापा क्षेत्र–५ का प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । त्यस रूपमा हेर्ने हो भने, एउटा सांसद केही दिन आफ्नो क्षेत्रमा आएर डुल्दा–घुम्दा कुनै तात्विक फरक त पर्दैन । तर ओलीको ओझ र जिम्मेवारी एउटा सांसद भन्दा धेरै माथि छ । त्यसैले स्थानीय निर्वाचनमा अपेक्षा गरे अनुसारको परिणाम नआएको आलो घाउ रहेकै बेला र संघ तथा प्रदेशको निर्वाचन आउनै लागेका बेलाको यो समयलाई बढिनै महत्वका साथ हेरियो । विष्लेषकहरू भन्छन्, ‘अध्यक्ष ओलीले निर्वाचन क्षेत्रमा पार्टीको हैसियत र आफू प्रधानमन्त्री भएका बेला गरेका विकास निर्माणका कामको प्रभाव जाँच्ने अवसरका रूपमा पनि यो भ्रमणलाई सदुपयोग गर्नुभयो ।’

विष्लेषकहरू भन्छन्, ‘अध्यक्ष ओलीले निर्वाचन क्षेत्रमा पार्टीको हैसियत र आफू प्रधानमन्त्री भएका बेला गरेका विकास निर्माणका कामको प्रभाव जाँच्ने अवसरका रूपमा पनि यो भ्रमणलाई सदुपयोग गर्नुभयो ।’

चुनावी माहोलको स्वागत

एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ का ईन्चार्ज देवराज घिमिरे भन्नुहुन्छ, ‘अध्यक्षज्यूले नियमित रूपमा नै देशका विभिन्न ठाउँका कार्यकर्ताहरूसँग भेटघाट गरिरहनु भएकै छ । त्यसैले आफ्नो जिल्लालाई अलिक बढी समय दिनु भएको पनि हो । तर यसलाई यतिमा मात्रै पनि नबुझौं । स्थानीय तहको निर्वाचनको समीक्षा, ग्राउण्ड रियालिटीको अध्ययन र आगामी निर्वाचनको तयारी जुट्न कार्यकर्तालाई उत्साह भर्ने काममा भ्रमण उपलव्धिमूलक रहेको पाइएको छ ।’ अध्यक्षको भम्रण पछि कार्यकर्ताहरूमा रहेका कतिपय निराशाहरू हटेको र आगामी निर्वाचनको तयारीका लागि पुनर्ताजगी आएको उनको भनाइ छ।

एमाले झापाका ईन्चार्ज अग्नी खरेल पनि स्थानीय चुनाव लगत्तै र आगामी निर्वाचनको सन्निकटमा भएको अध्यक्षको जिल्ला भ्रमणबाट केही उल्लेखनीय उपलव्धि हासिल भएको छ  । अध्यक्षको भ्रमणबाट हासिल भएका उपलब्धिहरूलाई खरेलले यसरी व्याख्या गर्नुभयो– ‘झापा क्षेत्र–५ का कार्यकर्ताहरूसँग सघन भेटघाट भयो, जिल्ला स्तरमा पनि अगुवा कार्यकर्ताहरूसँग भेट र छलफल भयो, केही पारिवारीक भेट र पुराना नेताहरूसँग भलाकुसारी भयो अनि महत्वपूर्ण कुरा स्थानीय निर्वाचनमा आएको परिणामबाट केही मन खुम्चिएको बेला थप ऊजासहित आगामी निर्वाचनमा होमिन प्रेरणा पनि पाइयो ।’ ओलीको सक्रियताले सामाजिक गतिविधिहरूमा कसरी आफूलाई उपस्थित गराउने, कसरी सक्रिय रहने भन्ने जस्ता कुरामा धेरैलाई सिक्ने मौका पनि दिलाएको खरेलको भनाइ छ ।

एमाले झापा अध्यक्ष दिपक कार्कीको नजरमा पनि ओलीको भ्र्रमणले केही सन्देश र ऊर्जा दिएको छ । ओलीले झापा बसाईका क्रममा जनस्तर देखिनै पार्टीको वर्तमान अवस्था, चुनावी परिणाम र आगामी आवश्यकताका बारेमा सूचना तथा सुझाव लिनुभएको छ ।  यस्तै सहकर्मी देखि पुराना नेता कार्यकर्तासँग समेत क्रान्तिको समिक्षा देखि अहिलेको अवस्था सम्म भलाकुसारी गर्नुभएको छ । कार्की भन्नुहुन्छ- ‘निर्वाचन क्षेत्रमा विरोधीहरूको शक्ति र एमालेको अवस्थाका बारेमा पनि विश्लेषण भएको छ । यसै गरी आगामी निर्वाचनको तयारीका सम्बन्धमा पनि केही कुरा भयो ।’

चुनाव घोषणा अघि नै अध्यक्ष ओलीको चुनाव लक्षित क्षेत्र भ्रमणबाट बुझ्न सकिन्छ ‘चुनावमा देश दौडाहामा निस्कनु पर्दा क्षेत्रलाई दिने समय कम हुन्छ । त्यसैले चुनाव अघि नै आफ्ना मतदाताका कुरा सुन्न र तिनको सम्बोधनका लागि लिइएको अग्रसरता हो ।’