काठमाडौं – प्रहरीले काठमाडौंबाट हुण्डी कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका रामहरि दुलाल र रौतहटका सुदिप आचार्य रहेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले सोमबार साँझ काठमाडौंको ठहिँटीबाट तीन जना हुण्डी कारोबारीसहित नगद ७४ लाख बरामद भएको बताउनुभयो ।
एसपी कोइरालाले पक्राउ परेकाको साथबाट २६ लाख ९६ हजार रुपैयाँ बराबरको चेक समेत बरामद भएको जानकारी दिनुभयो । पछिल्लो समय काठमाडौंमा हुण्डी कारोबारी सक्रिय हुन थालेका छन् ।
प्रहरीले उनीहरुमाथि निगरानी बढाएको जनाएको छ ।
प्रतिक्रिया