केरुङ- काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चीनले अनुदान सहयोग उपलब्ध गराउने भएको छ । चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग बुधबार साँझ चीनको चिङ्दाओमा भएको भेटवार्तामा चीनका विदेश मन्त्री वाङ यीले केरुङ(काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो ।
यीले केरुङ(काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चीनको सहयोग रहने पनि बताउनुभएको बेइजिङस्थित नेपाली दूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ । चीन र नेपालबीच एक दर्जन बढी विषयमा सहमति भएको दूतावासले जनाएको छ ।
यसअघि सन् २०२२ को मार्चमा नेपाल भ्रमणमा सहमति भएको नेपाल चीन क्रस बोर्डर प्रसारण लाइनको पूर्व सम्भाव्यता अध्ययनका लागि सहयोग गर्ने प्रतिबद्धता पनि यीले गर्नुभएको छ । दूतावासका अनुसार नेपाललाई भौतिक पूर्वाधार, विपद् व्यवस्थापन र स्वास्थ्य सामग्री लगायत विभिन्न शीर्षकमा चीनले १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
नेपाल चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृतिलगायत विभिन्न क्षेत्रका सहयोगलाई थप प्रबर्द्धन गर्ने सहमति पनि उहाँहरुबीच भएको छ । चीनले काठमाडौं चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माण कार्य छिट्टै थाल्ने जनाएको छ ।
नेपाली पक्षको आग्रहमा चिनियाँ पक्षले नेपाललाई रासायनिक मल उपलब्ध गराउने र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गर्न विचार गर्ने आश्वासन पनि दिएको छ । चिनियाँ विदेश मन्त्री वाङ नेपालको कृषि क्षेत्रमा सहयोग गर्न पनि सहमत हुनुभएको दूतावासले जनाएको छ ।
नेपालको उत्पादन क्षमता विकास गर्न चिनियाँ लगानीलाई प्रोत्साहन गर्न र नेपाली चिया तथा परम्परागत जडीबुटीको निर्यातमा सहयोग अभिवृद्धि गर्न पनि उहाँ सहमत हुनुभएको छ ।
सीमा बन्दरगाहमा महामारी नियन्त्रणका लागि संयुक्त संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ । उहाँहरुबीच चीनको स्वशासित क्षेत्र तिब्बतमा कोभिड(१९ को महामारी नियन्त्रण भएपछि रसुवा(केरुङ र तातोपानी(जाङ्मु बन्दरगाह दुईतर्फी व्यापारका लागि र हिल्सा(पुलाङ बन्दरगाह एकतर्फी व्यापारका लागि खोल्ने सहमति भएको दूतावासले उल्लेख गरेको छ । नेपाललाई आवश्यक पर्ने कोभिड(१९ विरुद्धको थप खोप र कोभिड(१९ सम्बन्धी चिकित्सा सहायता उपलब्ध गराउने पनि यीले बताउनुभएको छ ।
नेपाल(चीन संयुक्त सीमा निरीक्षण समितिको विद्यमान संयन्त्रको कामका लागि आवश्यक तयारी गर्न द्विपक्षीय प्राविधिक समिति गठन गर्न नेपाल र चीन सहमत भएका पनि विज्ञप्तिमा उल्लेख छ ।
चिनियाँ विदेशमन्त्री यीले नेपालको निजामती सेवा अस्पतालमा ब्लड क्यान्सरको उपचारका लागि ‘चिमेरिक एन्टिजेन रिसेप्टर टी सेल’ निर्माण प्रयोगशाला स्थापना गर्न र नेपाली स्वास्थ्यकर्मीलाई आवश्यक तालिम उपलब्ध गराउन चीनले सहयोग गर्ने घोषणा गर्नुभयो ।
यीले नेपालका विभिन्न भागमा विपद् तथा प्राकृतिक प्रकोपबाट प्रभावित जनताको सहयोगका लागि नेपालको अनुरोधबमोजिम ३० लाख आरएमबी बराबरको विपद् राहत सामग्री नेपाललाई उपलब्ध गराउने घोषणा गर्नुभयो । चीनले नेपाललाई थप २० लाख आरएमबी मूल्यका मेडिकल सामग्री र रसद उपलब्ध गराउने घोषणा पनि गरेको छ ।
विदेश मन्त्री वाङले चीन फर्कन चाहने बाँकी रहेका नेपाली विद्यार्थीहरूले स्वास्थ्य प्रोटोकल पूरा गर्दै प्रवेशाज्ञा प्रक्रिया अघि बढाउन र आफ्नो अध्ययन पुनः सुरु गर्न सक्ने पनि बताउनुभएको दूतावासले जनाएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री खड्काले चीन सरकारले स्वास्थ्य सामग्री, उपकरण र जीवन बचाउने कोभिड–१९ विरुद्धको खोपमा गरेको उल्लेख्य सहयोगको प्रशंसा गर्नुभएको थियो । उहाँले नेपाल ुएक चीन नीतिुप्रति प्रतिबद्ध रहेको बताउनुभयो । नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने पनि मन्त्री खड्काले बताउनुभएको दूतावासले जनाएको छ ।
चिनियाँ विदेशमन्त्री यीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन दोहोर्याउँदै नेपाल सरकारको प्राथमिकताअनुसार नेपालको विकास प्रयासमा सहयोग गर्ने बताउनुभएको थियो ।
मन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीबीच विभिन्न क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा पारस्परिक हितका विषयमा निरन्तर सहयोग गर्ने विषयमा पनि विचार आदानप्रदान भएको दूतावासले जनाएको छ ।
मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति चीन प्रस्थान गर्नुभएको थियो । मन्त्री खड्का तीन दिने चीन भ्रमण सकेर आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया