भक्तपुर -राष्ट्रिय प्रजातन्त्र पार्टीका एकपछि अर्का नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास धाउन थालेका छन् । महामन्त्री कुन्ती शाहीले ओलीलाई भेटेको दुईदिन पछि अध्यक्ष राजेन्द्र लिङदेनले एमाले अध्यक्ष ओलीलाई भेट्नु भएको छ ।
हिजो बिहान करिब साढे ११ बजे देखि एक घण्टा लिङ्देन बालकोट गएर अध्यक्ष ओलीलाई भेट गर्नु भएको छ । ‘चुनाव नजिकिदै छ । त्यसै विषयमा अध्यक्षज्यूसँग केही छलफल गर्न गएको थिंए ’ लिङदेनले यो बेलासँग भन्नुभयो ‘अहिले नै यसै गर्ने भइयो भन्ने केही भएको छैन । तर सत्ताधारीहरु एकातिर हुँदा विपक्षमा हुनेहरुले पनि सल्लाह गर्नुपर्ने भएको छ ।’
लिङदेनले यस अघि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई चुनावमा गठबन्धन गरेर जानका लागि पटक पटक आग्रह गर्दै भेटघाट गरिसक्नु भएको छ ।
गत बुधबार महामन्त्री शाही र केन्द्रीय सदस्य रेखा थापाले अध्यक्ष ओलीलाई निवासमा गएर भेटेका थिए । शाहीले भेटको विषयमा केही बताउनुभएको छैन ।
२०७४ सालको निर्वाचनमा झापा लगायत केही जिल्लाहरुमा एमाले र तत्कालिन राप्रपा नेपालबीच गठबन्धन भएको थियो । जसका कारण झापा क्षेत्र नं ३ बाट एमालेको बलमा लिङदेनले काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्नुभएको थियो । यसैगरी झापा ५ मा राप्रपाले अध्यक्ष ओलीलाई सघाएको थियो । यस पटक पनि लिङदेन एमालेसँग गठबन्धन गरेर चुनावमा जान चाहनु भएको राप्रपा स्रोत बताउछ । तर लिङेनले यसपाली आफू मात्र होइन झापा मै एउटा प्रदेशसभा निर्वाचन क्षेत्र पनि दाबी गरेको राप्रपाका एक नेताको भनाइ छ ।





प्रतिक्रिया