अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यो देशलाई माथि उठाउन एमाले चाहिन्छ : अध्यक्ष ओली

यो देशलाई माथि उठाउन एमाले चाहिन्छ : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बहुमत आउनका लागि रोक्नका लागि सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ ।

लोकतान्त्रिक शेर्पा संघ, नेपालले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले जति प्रयास गरेपनि जनता एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन दृढ रहेको दाबी गर्नुभयो ।

एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आमजनता दृढ रहेको अध्यक्ष ओलीको जिकिर थियो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘म जहाँ जान्छु, जहाँ पुग्छु, जुन भेगका जनतासँग भेट्छु, अन्तरक्रिया गर्छु, कुराकानी गर्छु, संवाद गर्छु- त्यहाँ देख्छु–जनता समृद्ध नेपाल सुखी नेपाली बनाउनका निम्ति कृत संकल्पित छन्। जनता दृढ अठोटका साथ अघि बढेका छन्।’

उहाँले एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढ्ने देखेर सत्तारुढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागिरहेको आरोप लगाउनुभयो ।

‘पाँच दलीय गठबन्धन कहिले आठ दलीय गठबन्धन बनाउने भन्दै कुदिराखेका छन्। यो गठबन्धन किन बनाउनु पर्यो ?,’ ‌ओलीले भन्नुभयो, ‘यो गठबन्धन एमालेलाई बहुमतबाट रोक्नका लागि हो।’

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले विजयी हुनैपर्ने बताउनु भयो । देशलाई माथि उठाउनका लागि एमालेको विकल्प नभएको उहाँको तर्क थियो।