काठमाडौं – काठमाडौं उपत्यकाबाट फोहोर बेकेर बन्चरेडाँडा गइरहेका टिपरहरु फेरि रोकिएका छन्। फोहोर बोकेर जाँदै गरेको टिपरले बाख्रालाई ठक्कर दिएर मरेपछि स्थानीबासिन्दाले क्षतिपूर्ति माग गरेर बाटो बन्द गरेका हुन् । स्थानीयको अवरोधपछि फोहोरका सयौ गाडी रोकिएका छन् ।
उपत्यकाको फोहोर हिजोदेखि उठ्न थालेको थियो । शनिबार फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडा पुगेको थियो । स्थानीयको आन्दोलनपछि आजबाट फेरि रोकिएको छ।
सिसडोलका बासिन्दा निराजन सञ्जेलका अनुसार फोहोर बोकेका गाडीको ठक्करबाट ककनी गाउँपालिकाको कागती गाउँमा बाख्रा मरेपछि फोहोरको गाडी रोकेका हुन् ।
स्थानीयवासीहरुले बाख्राको क्षतिपूर्ति माग गरेका छन् । एक महिना भन्दा बढी समयदेखि राम्ररी फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंका घरघरमा र सार्वजनिक स्थलमा फोहोर थुप्रिएको छ ।
सिसडोलमा रातिको समयमा फोहोर बोकेको ट्रक तोडफोड भएपछि काठमाडौं महानगरपालिकाले आइतबारदेखि प्रहरीको सुरक्षामा फोहोरका गाडी बञ्चरेडाँडातर्फ लैजान थालेको थियो । तर फोहोर लैजान थालेकै दिन स्थानीयले बाख्रा मरेको नयाँ बहानामा फोहोर रोकेका हुन् ।





प्रतिक्रिया