काठमाडौँ – प्रतिनिधिसभाको बैठक सांसदहरूको उपस्थितिको अभावमा स्थगित भएको छ ।
सांसदहरूले हाजिर गरेर बाहिरिँदा प्रतिनिधिसभामा विधेयक पारित गर्ने प्रक्रिया नै अवरुद्ध हुन पुगेको हो। बैठक प्रारम्भ हुँदा १७९ सांसदले हाजिर गरे पनि बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्दा भने ६७ सांसद मात्रै उपस्थित रहेको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठक १५ मिनेटसम्म स्थगित भएपछि पनि एक चौथाइ अर्थात् ६९ जना सांसद उपस्थित नहुँदा प्रतिनिधिसभा मंगलबारसम्मका लागि स्थगित भएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित गर्ने क्रममा सांसदहरूको गणपूरक संख्या नपुगेको हो । उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा ६७ सांसद उपस्थित थिए । त्यसपछि १५ मिनेट सभा बैठक स्थगित गरिएको थियो । १५ मिनेट बैठक स्थगित गर्दा पनि सांसदहरूको संख्या ६९ नपुगेपछि कार्यसूचीमा रहेका बाँकी बिजनेस सूचीबाट हटाएर बैठक नै स्थगित गर्नुपरेको हो ।
प्रतिक्रिया