अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परमादेशको सरकारले जनताको हितमा काम गर्न सक्दैन : प्रदीप ज्ञवाली

परमादेशको सरकारले जनताको हितमा काम गर्न सक्दैन : प्रदीप ज्ञवाली


रुकुम-पूर्व – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रसँग गरेको एकताले जनतामा खुसी छाएको भएपनि पुष्पकमल दाहाल ‘प्रचण्ड’को कारणले असफल भएको दाबी गर्नुभएको छ ।

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि आज रूकुमपूर्व आइपुग्नुभएका उपमहासचिव ज्ञवालीले वाम एकताको लागि सधैँ तयार रहेको बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘माओवादी केन्द्रसँग गरिएको एकता आम जनतामा खुसी छाएको थियो। तर, प्रचण्डकै कारणले पार्टी विभाजन हुन पुग्यो। अहिले पनि माओवादी हालको गठबन्धनबाट बाहिरिएर पहिलेका तीतामीठा कुरालाई बिर्सेर आएमा वाम एकताका सम्भव छ।’

परमादेशबाट बनेको सरकारलाई हटाउनका लागि ताजा जनमतको आवश्यक रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिलेको सरकार जनादेशबाट नभै परमादेशबाट बनेकाले यो सरकारले जनताको हितमा काम गर्न सक्दैन  । त्यसकारण आगामी मंसिर ४ गतेको संघ र प्रदेश निर्वाचनलाई एमालेले सकारात्मक रूपमा लिएको छ।’

उपमहासचिव ज्ञवालीले एजेण्डा मिल्ने दलसँग चुनावी गठबन्धनका लागि एमाले खुला रहेको बताउनुभयो। राष्ट्र निर्माणको हितमा रहेका दलहरूसँग चुनावमा गठबन्धन गर्न एमाले तयार रहेको समेत बताउनु भयो। उहाँले भन्नुभयो, ‘हामी गठबन्धनका लागि गठबन्धन नारा लिएर चुनावमा जाँदैनौ। एमालेलाई जनताको पूर्ण साथ, सहयोग र विश्वास छ। हामी एमाले बहुमत आउनेमा ढुक्क छौँ ।’

उहाँले आगामी निर्वाचनका राष्ट्रिय हितको रक्षा, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक, आर्थिक, रुपान्तरणको अभियानलाई पुरा गर्ने, संकटग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउने र सुशासन मुख्य एजेण्डा लिएर जनताको बिचमा जाने समेत बताउनु भयो ।