काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ मंसिरमा हुने तिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अरु दलसँग गठबन्धन, तालमेल वा सहकार्यबारे निर्णय लिने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।
आज बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विभिन्न राजनीतिक दलसँग गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी लिन अध्यक्ष लिङ्देनलाई जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले अध्यक्ष लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरेको छ ।
राप्रपाले घोषणापत्र तयारीका लागि प्राडा गीताभक्त जोशी संयोजक, सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, प्राडा जयन्तनाथ खनाल र सहप्राध्यापक हेमराज कार्की रहेको समिति गठन गरेको छ ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा लगायतको उपस्थितिमा बसेको बैठकले निर्वाचन भयरहित र धाँधलीरहित ढंगबाट सम्पन्न हुने वातावरण बनाउन पनि सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको छ।






प्रतिक्रिया