काठमाडौं – नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट आगामी संसदीय निर्वाचनमा सहभागी हुने भएका छन्।
मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले वामदेवलाई पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडाबाट लड्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
‘राष्ट्रिय एकता अभियानका संयोजक कामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय चुनावमा लड्ने विचार गर्नुभयो,’ महराले भन्नुभयो, ‘त्यसलाई हामी स्वागत गर्छौं। उहाँहरु र उहाँको पार्टीका अन्य सदस्यहरुलाई चुनावमा सहभागी हुन हामीले स्वीकृति गर्यौं।’
भट्टराई र गौतमले केही सर्त राखेको र त्यसबारे छलफल गर्न बाँकी रहेको महराले बताउनु भयो । उहाँले दुवै जनाको उम्मेदवारीबारेमा सत्तारुढ गठबन्धनमा पनि छलफल हुने र टुंगो लाग्ने जानकारी दिनुभयो । माओवादी स्थायी समितिको बैठक बुधबार बिहान फेरि बस्ने भएको छ ।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गतेका लागि घोषणा गरिएको छ ।





प्रतिक्रिया