अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै, प्रदेश सरकारले दियो सार्वजनिक बिदा

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै, प्रदेश सरकारले दियो सार्वजनिक बिदा


धनगढी- सुदूरपश्चिममा बुधबार ओल्के पर्व मनाइँदैछ। यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा पनि दिएको छ। सुदूरपश्चिममा ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु यो पर्वको विशेषता हो।

यस्तै सागपात, अन्न, दुध, दही, घिउ र पक्वान्न आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन छ। भदौ १ गते बिहानै धुहाइधुवाइ गरी विभिन्न परिकार बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आफन्तलाई दिने पनि गरिन्छ।

यो पर्व यस भेगका बासिन्दाको मौलिक तथा तथा जेठो पर्व रूपमा रहेको छ। यसलाई सिंह संक्रान्ति पनि भनिन्छ।

पण्डित दयाकृष्ण पन्त ठूलालाई सम्मान र सानालाई माया गर्नु यो पर्वको विशेषता भएको बताउँछन्।

ओल्के संक्रान्तिताका सतरति ९सातरातको झरी० पर्छ भन्ने विश्वास गरिन्छ। यो समयमा आकाशमा तारा देखिएमा वा वन चर्न गएका भैँसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने विश्वास गरिन्छ।

प्रकृतिमा नयाँ नयाँ किसिमका वनस्पति र किरा फट्यांग्रा देखिनुका साथै धुलो धुवा र फोहोर पखालिन्छ र पाखा पखेरामा नवधार ९पानीका नया मुहान० फुट्न थाल्ने पनि विश्वास छ।

ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ।

यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ। यो बूढीलाई असोज संक्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ।

यसरी बूढी पोलेमा वर्षभरि लुतो लगायतका रोगव्याधिबाट परिवारजन मुक्त हुने मान्यता छ।