काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित गर्ने काम गर्न नगर्न सत्तापक्षलाई चेतावनी दिनु भएको छ ।
आज प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उपमहासचिव ज्ञवालीले त्यसलाई सर्वस्वीकार्य बनाउने अवसरको रुपमा लिन पनि सत्तापक्षलाई आग्रह गर्नुभयो ।
उपमहासचिव ज्ञवालीले विधेयकमा संसदीय नियमावली अनुसार संशोधन प्रस्ताव राख्न पाउने अधिकार सुनिश्चित गर्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण समेत गराउनु भयो ।
उपमहासचिव ज्ञवालीले बहुमतको आधारमा विधेयक जबरजस्ती पारित गरेर पठाउने प्रयास गरिए त्यसको परिणाम राम्रो नहुने पनि चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकताजस्तो संवेदनशील विषयलाई व्यवस्थित गर्न बनेको विधेयकमाथि यो महत्वपूर्ण दस्तावेजमा सुधार गर्ने एउटा महत्वपूर्ण अवसर सम्माननीय राष्ट्रपतिज्यूको सन्देशले दिएको छ । यसलाई यो सदनले गम्भीरतापूर्वक लिएर अधिकतम सदुपयोग गरोस भन्ने म आग्रह गर्न चाहन्छु। तर सत्तापक्ष त्यसो गर्ने पक्षमा छैन। हिजो मात्रै सत्तारुढ दलहरु बसेर त्यसलाई जस्ताको तस्तै पारित गर्ने निर्णय सार्वजनिक सञ्चारमाध्यममा आएको छ।’
प्रतिक्रिया