अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेनी-भकुण्डे सडकको बेहाल

बेनी-भकुण्डे सडकको बेहाल


गलेश्वर – ट्र्याक खुलेको १४ वर्ष बितिसक्दा पनि म्याग्दीको सदरमुकाम बेनी–भकुण्डे जोड्ने मोटरबाटोको अवस्था सुधार हुन सकेको छैन । बेनीदेखि भकुण्डेसम्म जोडिएको यो सडकमा न  यातायातका साधन नै सञ्चालन भएका छन्, न त सडकको स्तरोन्नतिमा कसैले चासो नै दिएका छन् ।    विसं २०६५ मा ट्र्याक खोलिएकोे साढे ७ किमी दूरीको यो सडक मर्मतका लागि अहिलेसम्म करिब रु.एक करोड खर्च भइसकेको भए पनि सडकको अवस्था भने झनझन खराब हुँदै गइरहेको स्थानीयवासीको गुनासो  छ ।

बेनी–भकुण्डे सडकको ट्र्याक खुलेदेखि अहिलेसम्म ट्र्याक्टर, साना जीप र मोटरसाइकलबाहेक ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । सानासाना सवारीसाधन पनि पानी नपर्दाको दिन र हिउँदका महिनामा मात्रै सञ्चालन हुने  गरेको छ ।    “साना सवारीसाधन वर्षका चार महिना मात्र मुस्किलले सञ्चालन हुन्छन्, सडक बनेको १३ वर्ष बितिसक्दा पनि न यो सडकबाट कुनै बस गुडेको छ, न मालबाहक ठूलो ट्रक नै”, स्थानीय बुद्धिजीवी भीमबहादुर पौडेल भन्नुहुन्छ, “मर्मत र स्तरोन्नतिका लागि रु एक करोडको हाराहारीमा नगरपालिका र प्रदेश सरकारले खर्च गरेको यो सडकमा अलिअलि पानी पर्दा मोटरसाइकलसमेत गुडाउन सकिँदैन ।”

उक्त सडकखण्डको रोहोटे, कन्थराजथान क्षेत्र र सल्लेरीको तल्लो क्षेत्रमा पटकपटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिको सडकमा नाली निर्माण नगरी सामान्यरुपमा डोजरमात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा यातायातका साधन सञ्चालन हुन नसकेको खबराका युवा उद्यमी शोभित सापकोटा बताउनुहुन्छ । नगरपालिकाको गेटदेखि हाँडेभिर, लम्भलीहिल हुँदै वडा नं २को भकुण्डेस्थित वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नतिका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय बासिन्दाको गुनासो छ । 

वडा नं २का वडाध्यक्ष हिराबहादुर थापा कमजोर भूबनोट,  धेरै घुम्ती भएको र वनक्षेत्र रहेकाले बेनी-भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको उल्लेख गर्नुहुन्छ । सडकको स्तरोन्नतिका लागि ठूलै बजेट आवश्यक पर्ने तर नगरपालिकाबाट मात्रै सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिएको उहाँ बताउनुहुन्छ  ।

खानीका धातु र ढुङ्गाका साथै पहराका शिलाजीत अलपत्र

पश्चिम र उत्तरी म्याग्दीका जङ्गल तथा भिरपाखामा वर्षौंदेखि अलपत्र अवस्थामा रहेका तामा, स्लेट, खरी, शिलाजीत र चुनढुङ्गालगायत बहुमूल्य खानी उत्खननको पहल हुननसक्दा जङ्गलमा नै खेर गइरहेका छन् । सङ्घीय सरकारको मातहतमा रहेको खानी तथा भूगर्भ विभागले खानी सञ्चालनको अनुमति नदिँदा स्थानीय तहको बलियो आयस्रोत बन्नसक्ने दर्जनौँ खानी जङ्गलका भिर पहरामा नै अलपत्र परेका हुन् ।

जिल्लाका स्थानीय तह र सरोकारवालाले खानी सञ्चालनका विषयमा पटकपटक नेपाल सरकार र सम्बन्धित निकायसँग उत्खननका अनुमति माग गर्दा पनि अनुमति प्राप्त नभएपछि यी खानी ‘भिल्लाका देशका मणि’ जस्तै प्रयोग र महत्वविहीन बनेका हुन् । जिल्लाका पश्चिमी तथा उत्तरी क्षेत्रमा तामादेखि लिएर नुनका खानीसमेत भएको पुष्टि भए पनि सम्बन्धित निकायको मौनताले र खानी उत्खननसम्बन्धी प्रष्ट नीतिगत व्यवस्थाको अभावमा खानी अलपत्र परेका सरोकारवालाले बताएका छन् ।

जिल्लाको मालिका गाउँपालिका-५ ओखरबोटमा रहेको नेपालकै उत्कृष्ट मानिएको तामाखानी पनि स्पष्ट नीतिको अभावका कारण उत्खनन गर्न नसकिएको खानीका पूर्व ठेकेदार तथा हाल मालिका गाउँपालिका–५ ओखरबोटका पूर्ववडाध्यक्ष दिलीप शेरचन बताउनुहुन्छ ।    उहाँका अनुसार जिल्लामा रहेका तामा, स्लेट (घर छाउने ढुङ्गा), शिलाजीत, खरी, चुनढुङ्गाका खानी वर्षौंदेखि उत्खनन हुन नसक्दा अलपत्र अवस्थामा छन् भने संरक्षण हुन नसकेपछि पुरिँदै गएका छन् । खानीहरूको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् ।

स्थानीय बूढापाकाका अनुसार ओखरबोट, भकिम्ली, गौश्वारालगायत ठाउँमा रहेका  तामा खानी २०२८ सालसम्म सञ्चालनमा थिए । तत्कालीन सरकारले खानी उत्खनन गरेबापत लिने कर ९भेजा० तिर्न नसकेपछि खानी उत्खनन कार्य बन्द भएको थियो । “तत्कालीन सरकारको कर नीतिका कारण हाम्रा पुर्खाले उत्खनन गर्न छाडेका हुन्”, मल्कावाङका ७१ वर्षीय दलबहादुर छन्त्याल गुनासो गर्नुहुन्छ ।    साविकका गुर्जा, ताकम, कुइनेमङ्गले, ओखरबोट, मल्कवाङ, भकिम्लीलगायत गाविसमा करिब २० वटा तामाखानी उत्खननका लागि छन्त्याल समुदायलाई जिम्मेवारी दिइएको थियो । विसं २०६८ को जनगणनाअनुसार नेपालमा छन्त्याल जातिको जनसङ्ख्या ११ हजार  थियो ।

परम्परागत पेसाबाट विस्थापित उनीहरू पछिल्लो समय वैदेशिक रोजगारी र अन्य पेसामा आबद्ध भएका छन् । म्याग्दी र बागलुङको बुर्तिवाङ क्षेत्र छन्त्याल समुदायको परम्परागत थातथलो हो । छन्त्याल समुदायले उत्खनन गरेका धातु दलित समुदायले प्रशोधन गरेपछि थकाली समुदायले देशका विभिन्न स्थानमा लगेर बिक्री गर्ने गर्दथे । त्यतिबेला छन्त्याल समुदायले माटो सुघेर पनि खानी पत्ता लगाउने गरेको बूढापाकाको भनाइ  छ ।
खानी रहेका ठाउँ अहिले पुरिँदै गएका छन् । खानी उत्खनन गर्न खनिएका पाँच सय मिटरसम्मका सुरुङ ओखरबोटमा अझै भेटिने स्थानीयवासी नवीन पुन बताउनुहुन्छ । उहाँका  अनुसार ती सुरुङमा अहिले पानी भरिएको ताल बनेको छ  भने सुरुङभित्र तामाका धाउ असरल्ल अवस्थामा  छन् । प्रशोधनपछि काम नलाग्ने भएर फालिएका धातुका टुक्रा यत्रतत्र छरिएर रहेका अझै भेट्टिन्छन् । तत्कालीन अवस्थामा छिना, मार्तल, गल, घन, कुटो, कोदालोको प्रयोग गरेर खानी उत्खनन गर्ने चलन थियो ।
खानी उत्खनन गर्ने अधिकार सङ्घीय सरकारले स्थानीय तहलाई दिनुपर्ने आवाज म्याग्दीमा तीव्ररुपले उठ्ने गरेको छ । यसका लागि कतिपय जनप्रतिनिधि सम्बन्धित मन्त्रालय र खानी तथा पुरातत्व विभागमा डेलिगेशनसमेत गएका थिए ।रुम र लुलाङमा रहेका स्लेट खानीबाट परम्परागतरूपमा उत्खनन भने भइरहेको छ । जिल्ला समन्वय समितिका संयोजक राजकुमार थापा जिल्लाका प्राकृतिक सम्पदाको संरक्षण र ती सम्पदाबाट स्थानीयवासीको जीविकोपार्जनका लागि पहल सुरु गरिएको जानकारी दिनुहुन्छ ।
पहरामै अलपत्र शिलाजित

जिल्लाका विभिन्न भिरमा पाइने बहुमूल्य जडीबुटी शिलाजित पहरामै अलपत्र परेको छ । स्थानीयमा शिलाजितको महत्व, उत्खनन र प्रशोधनसम्बन्धी ज्ञान नहुँदा करोडौँ मूल्यका शिलाजित खेर गइरहेको हुन् । आयुर्वेदिक महत्वले युक्त शिलाजितको उत्खनन र बजारीकरणका लागि यहाँका स्थानीयतहले ध्यान नदिएको गुनासो व्यापक बन्दै गएको छ ।

जिल्लाका धेरैजसो ठाउँमा शिलाजित भए पनि यसको उत्खनन र प्रशोधन हुन नसकेको जिल्लास्थित आयुर्वेद औषधालयले जनाएको छ । गाउँघरमा परम्परागतरूपमा ठूलाठूला चट्टानका भिरबाट स्थानीयवासीले निकालेर शिलाजित बनाउने गरे पनि व्यावसायिकरूपमा यसको उत्खनन र प्रशोधन राज्यका तर्फबाट हुन नसकेको आयुर्वेदिक औषधिका जानकार रघुनाथ सापकोटा बताउनुहुन्छ ।

शिलाजित हरेक बिरामीका लागि उपयोगी भएको र यसलाई हरेक रोगमा ‘टनिक’का रूपमा प्रयोग गर्न सकिने उहाँको भनाइ  छ । चोटपटक लागेमा र शरीर दुख्ने समस्या भएका बिरामीका लागि यसको बढीमात्रामा प्रयोग गर्ने गरिएको सापकोटा उल्लेख गर्नुुहुन्छ  । बजारमा शिलाजित ‘क्याप्सुल’का रूपमा पाइने र त्यो निकै महँगो हुने बताइएको छ । जिल्लाका ठूलाठूला भिरका चट्टान तथा ढुङ्गा पग्लेर शिलाजित निस्कने गरेको उक्त औषधालयले जनाएको छ ।    पश्चिम म्याग्दीका गुर्जा, लुलाङ, मुदी, मुना, बङ्रजा, गौश्वारालगायत जङ्गलका भिरमा शिलाजित पाइन्छ । जानकारका अनुसार शिलाजित दुई किसिमको हुन्छ ।

शिलाजितलाई जडीबुटीको राजा मानिन्छ । बल पुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजितमा पाइन्छ । सूर्यको किरणमा शिलाजितयुक्त ढुङ्गा राखेर त्यसबाट शिलाजित सङ्कलन गरिएमा त्यसलाई सूर्यतापी शिलाजित भन्ने गरिन्छ । शिलाजितयुक्त ढुङ्गालाई आगोमा गाईको गहुँतसँग पकाएर सङ्कलन गरेमा त्यसलाई अग्नितापी शिलाजित भन्ने गरिन्छ । भिरबाटै सङ्कलन गर्न सके निकै शुद्ध शिलाजित निस्कन्छ ।     जिल्लामा शिलाजितसँगै ७२ प्रकारका अन्य जडीबुटी रहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । शिलाजितलाई पनि वनपैदावार जडीबुटीमै राखिएको पूर्वडिभिजन वन अधिकृत चन्द्रमणि सापकोटा बताउनुहुन्छ ।

बिरामीका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिलाजितको निकै महत्व रहेको बताइन्छ । यौन दुर्बलता अर्थात् नपुङ्सकताबाट पीडित विवाहित व्यक्तिले मात्र नभई अविवाहित युवकले पनि यसको सेवन गर्दा लाभ हन्छ । विशेषगरी मधुमेह, धातुक्षिणता, बहुमूत्र, स्वप्नदोष, शारीरक दुर्बलतालगायत रोग यसले निर्मूल बनाइदिन्छ । शिलाजितको उत्पत्ति पत्थरबाट भएको आयुर्वेद शास्त्रमा उल्लेख छ । संस्कृतमा पत्थरलाई शिला भनिन्छ । गर्मीको मौसममा पर्वतका चट्टानबाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ शिलाजित हो । हेर्दाखेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चम्किलो हुन्छ ।