अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका लागि झापा मक्का मदिना : अध्यक्ष ओली

एमालेका लागि झापा मक्का मदिना : अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला नेकपा एमालेका लागि मक्का मदिना जस्तै भएको बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै ओलीले झापा जिल्लाले देश निर्माणको लागि भूमिका खोल्नु पर्ने बताउनुभयो ।

एमाले झापाको उद्गमस्थल भएको उहाँले स्मरण गराउनुभयो । ‘यो सहिद भूमि हो, यो चेतनाको भूमि हो, यो सहिदकोको भूमि हो’, ओलीले भन्नुभयो । 

महिलाहरूले यो सन्देश लिएर मतदाताको बिचमा जानु पर्ने उहाँले बताउनुभयो। झापा विद्रोहको भूमि भएकोले त्यो सन्देश झापाली महिलाले आउने निर्वाचनमा दिनुपर्ने ओलीले बताउनुभयो । नारी शक्ति उठेर सबै खाले गठबन्धनलाई परास्त गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘महिला दिदीबहिनीहरू बिचारमा स्पष्ट हुनुहुन्छ, नेकपा एमाले मात्र स्पष्ट दृष्टिकोण बोकेको पार्टी हो’, उहाँले भन्नुभयो ।

निरङ्कुश राजतन्त्र फाल्ने एमालेलाई गठबन्धनले केही पनि गर्न नसक्ने उहाँले बताउनुभयो । अरिंगाल र बच्छ्युँ खाने एमालेलाई झुसे बारुलाले जस्तो सुकै गठबन्धन गरे पनि केही फरक नपार्ने ओलीले बताउनुभयो ।

अब पनि एमाले ठिक हो कि होइन भन्ने दुविधा पाल्न नहुने उहाँले बताउनुभयो । एमाले जोगाएर अहिलेको अवस्थासम्म पुर्‍याएको भन्दै उहाँले महिला र युवालाई धन्यवाद दिनुभयो । महिलाहरू दृढका साथ पार्टीको पक्षमा उभिएका र अब पनि महिलाहरू पार्टीको निर्णय र गन्तव्यको पक्षमा उभिनु पर्ने ‌ओलीले बताउनुभयो । यो पार्टीलाई जोगाएर यहाँसम्म ल्याउने, पार्टी बचाउने खास गरी भन्ने हो भने महिला दिदी बहिनी हो, महिला दिदी बहिनीहरूले बचाउनुभयो, युवाहरूले बचाउनुभएको हो, मैले जिल्ला जिल्लामा हेरेँ, केन्द्रदेखि तलसम्म हेरेँ, पुरुषहरू धेरै लरबराए, तर महिलाहरू बहुत कम मात्रै लरबराए, लरबराउँदै लरबराएनन् त म भन्दिनँ, तर कम मात्र लरबराए, महिलाहरू दृढताका साथ पार्टीको पक्षमा उभिए’, ओलीले भन्नुभयो ।

सम्पूर्ण महिलालाई उठाउन, परिचालित गर्न र जिताउने भूमिका अनेमसंघले निर्वाह गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । ओलीले अहिलेको एक मात्र लक्ष मङ्सिरमा चुनाव जित्ने हुनुपर्ने बताउनुभयो । झापा जिल्लाले दशभरिलाई दृष्टान्त दिने गरी भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।