अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुखानीको त्यो रात,सालबाडीको यो रात ( तस्विर सहित)

सुखानीको त्यो रात,सालबाडीको यो रात ( तस्विर सहित)


झापा- पूर्वोतर झापाको सुखानी भन्ने ठाउँ धेरैले सुनिसकेका छन् । कम्यूनिष्टहरुले त यस ठाउँलाई तिर्थ नै मान्छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै शब्दमा सुखानी कम्यूनिष्टहरुका लागि ‘मक्का मदिना’ हो ।
नेपालमा पञ्चायती व्यवस्था सुरुवातको एक दशक नभइ जनता माथीको दमन तिव्र हुँदै थियो । मानिसहरुलाई बोल्ने,राजनीतिक गतिविधी गर्ने कुराहरु ठप्प नै थिए । गरिबहरु थप थिचोमिचोमा पर्ने किसानहरुलाई सामन्तले शोस्दै जाने प्रवृति बढ्दो थियो । यसलाई मुक्ति पाउनका लागि झापाली युवाहरुले एउटा विद्रोह गरे । २०२५/०२६ साल देखि सुरु भएको यो विद्रोहको आकार बढ्दै थियो । यसको नेतृत्व रामनाथ दाहाल,नेत्र घिमिरे,विरेन राजवंसी,कृष्ण कुईंकेल र नारायण श्रेष्ठहरुले गरे । यस अभियानमा केपी शर्मा ओली,सीपी मैनाली लगायत पनि सहभागी हुनुहुन्थ्यो ।


प्रहरीले दाहाल,घिमिरे,राजवंसी,कुईकेल र श्रेष्ठलाई पक्राउ ग¥यो । चर्को दमनका बाबजुत पनि उनीहरु आफ्नो लक्ष्यबाट डगमगाएनन् । त्यसपछि उनीहरुलाई जेल सार्न भनेर झापाको चन्द्रगढीबाट इलामतिर लगियो । इलाम जाने गाडीको बाटो विर्तामोडबाट पूर्वतर्फ जान्थ्यो तर उनीहरुलाई उत्तरतर्फ लगियो । अनि पु¥याइयो सुखानीको जंगल । झापा र इलामको सिमानामा पर्ने यो जंगल क्षेत्रमा पाँचै जना मुक्तिकामीहरुलाई ड्याङ,ड्याङ गोली हानेर मारियो । २०२९ फागुन २९ गतेको त्यो रात निशब्द थियो । बस्तीहरु सुतेका थिए । आतंकले सुनसान थिए ।


त्यस लगत्तै पक्राउ पर्नु भएका केपी शर्मा ओली १४ वर्ष जेल बसेर २०४४ सालमा रिहा हुनु भयो । सीपी,आरके,मन कुमार गौतम,अमर कार्की,मंगल तामाङ, शिवप्रसाद शिवाकोटी,नारद भारद्वाज,दधीराम उप्रेती, सानो दुर्गा अधिकारीहरु पनि उसैगरी रिहा भए । तर फागुन २१ को त्यो रात सुखानी क्षेत्रका लागि मात्र होइन देशकै लागि एउटा विद्रोहको बिज रोप्ने घटना भइदियो । पार्टी र देशले पाँचैजनालाई सहिद घोषणा ग¥यो ।
उनै सहिदले देखेको सपनालाई साकार पार्ने क्रममा झापाको अर्जुनधारा नगरपालिका आसपासमा सुखानीका पदचापहरु पछ्याउदै धेरै संरचना बने । त्यो भन्दा बढी एमालेलाई माया गर्ने जनता बढे । त्यस ठाउँका जनताले सुखानीको उत्तराधिकारीको रुपमा एमालेलाई जिताउदै गए । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०५६ सालको निर्वाचनको विषम परिस्थितीमा पनि यहाँका जनताले सुखानीको उत्तराधिकारीको रुपमा जिताएर पठाए । देवराज घिमिरेहरुले सुखानी सहिद स्मृति प्रतिष्ठान बनाउनुभयो । बहुदलीय व्यवस्था आए पछि गठन गरिएको प्रतिष्ठानले झापा विद्रोहको त्यो कालरात्रीको मात्र खोजीखबरी गरेन,भौतिक रुपमा पनि सुखानी क्षेत्रलाई झापा विद्रोहको इतिहास पढ्ने ठाउँ बनायो । यही इतिहास पढेर सुखानी क्षेत्र लाल किल्ला बन्ने क्रम जारी नै छ ।


अर्जुनधाराको सालबाडी क्षेत्रमा एमालेले पाँचजना सहिदका सालिक मात्र बनाएन,सुखानी स्मृति पार्क पनि बनायो । पार्कभित्र पोखरी छ । कछुवा पालन छ । पोखरीमा बोटिङ सुविधा छ । सुन्दर सालको जंगल क्षेत्रमा घुमघाम र सुखानी हेर्न र पढ्न बर्षेनी हजारौं नरनारी पुग्छन् यहाँ ।
२०७९ साल भदौ ३ गतेको रात । सालबाडीको जंगलैभरी मान्छे मान्छे । ५० वर्ष अघिको त्यो सुनसान र आतंकपूर्ण रातको अनुभुती गरेका पार्टी अध्यक्ष केपी शर्मा ओली पनि यही भिडमा हुनुहुन्थ्यो । सालबाडीमा यो रात रुखका पोथ्रा सरह मान्छेहरु थिए । पोखरीको वरिपरी बनाइएका प्याराफिटमा मान्छे अटाएका थिएनन् । कोही रुख चढेका थिए । पार्क प्रवेश गर्ने स्थलबाट करिब एक किलोमिटरसम्म हिडेरै अध्यक्ष ओली पत्नी राधिका सहित पार्कको पोखरी अगाडी पुग्नुभयो । मध्यरातमा उर्लिएको यो मानव सागर देखेर मानिसहरुले सम्झे भूमिगत कालका दिनहरु । जतिबेला संगठन गर्न,पार्टीको प्रचार गर्न दिउसो प्रतिवन्द थियो । राती राती लुकेर मानिसहरु जम्मा गरेर पार्टी विस्तार गर्नुपर्दथ्यो । मध्यरातमा उर्लिएको मानव सागर त्यसैको उपज थियो । तर झल्को उही ५० वर्ष अघि कै थियो ।


यो मानव सागर देखेर अध्यक्ष ओली भावुक र उत्साहित दुवै भावभंगीमा देखिनु भयो । यही सुखानी पार्कमा बनाइएको रंगिन पानीको फोहोरा उद्ध्घाटन कार्यक्रममा उहाँलाई यहाँ निम्त्याइएको थियो । मध्यरातमा सालबाडीको जंगलमा आएका जनतालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो ‘आज म ५० वर्ष अघिको त्यो रात र आजको यो रातको तुलना गरिरहेको छु । म त्यो आतंकपूर्ण रात र यो उत्साहपूर्ण रात दुवैको साक्षी बनेको छु । हामीले ५५ वर्ष अघि सुरु गरेको अभियान सही रहेछ भन्ने कुरा फेरी आज यो जनमानसले प्रमाणित गरिदिएको छ । ।’


अध्यक्ष ओलीको साथमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि सँगै हुनुहुन्थ्यो । दुवै नेताले स्विच दबाएपछि पोखरीको बीचमा ‘गाउँगाउबाट उठ,बस्तीबस्तीबाट उठ’ भन्ने गीतका साथमा पानीको फोहोरा जुरुक्कै उठ्यो । कर्कल तालीको ध्वनीले सालबाडी क्षेत्र फेरी एक पटक तरंगित बन्यो ।
एमाले स्थायी कमिटी सदस्य देवराज घिमिरेले त्यहाँ जानकारी दिनुभयो ‘सुखानीलाई देश विदेशमा जानकारी दिनका लागि यहाँ मान्छेको आवागमन बढाउनु पर्दछ । यस पार्कमा रंगिन पानीको फोहोराका कारण थप पर्यटकहरु आउछन् । जान्छन् । यस कामका लागि पर्यटन मन्त्रालयले ५० लाख रुपैंया छुट्याएको थियो । अन्य स्रोतबाट २५ लाख रुपैंया जुटाएर ७५ लाख रुपैंयामा निर्माण गरिएको छ । यसैगरी प्याराफिट निर्माणका लागि करिब ४५ लाख रुपैंया खर्च भएको घिमिरेले जानकारी दिनुभयो । ’