अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले ‘मिडिया मार्केटिङ’ गर्न सकेन,अब गर्छ : उपमहासचिव गुरुङ

एमालेले ‘मिडिया मार्केटिङ’ गर्न सकेन,अब गर्छ : उपमहासचिव गुरुङ


काठमाडौ- नेकपा एमालेका उपमहासचिव एवं प्रचार तथा प्रसार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले एमालेले जनपक्षीय काम गरे पनि ‘मिडिया मार्केटिङ’ गर्न नसकेको बताउनुभएको छ ।
एमालेको प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको रेडियोकर्मीहरुसँगको अन्तरसंवादमा बोल्दै गुरुङले एमालेलाई ‘मिडिया मैत्री’ बनाउन विभागले विभिन्न कार्ययोजना बनाएर कार्यन्वयन गरिरहेको बताउनुभएको छ ।
‘एमाले पार्टीले होस वा एमाले सरकारमा हुँदा होस काम धेरै राम्रा गरिए तर प्रचार प्रसार गर्न जानिएन । मिडियाको सकारात्मक साथ रहेन’ गुरुङले भन्नुभयो ‘त्यो कुरालाई अब हामी चिर्र्छौं । एमालेलाई मिडिया मैत्री पार्टी बनाउछौं ।’
एमाले राजनीतिक,कुटनीतिक,सामाजिक सबै क्षेत्रमा अब्बल पार्टी भएको उहाँको भनाइ छ । केही मिडियाले एमालेको चित्र समाजमा नकारात्मक बनाउन प्रयास गरे पनि त्यो सम्भव नहुने गुरुङले दाबी गर्नुभयो । उहाँले रेडियो नेपालको सबभन्दा प्रभावकारी सञ्चार माध्यम भएकोले यसमा कार्यरत सञ्चारकर्मीहरुले एमालेको पक्षमा माहोल सृजना गर्न सक्ने बताउनुभयो । उहाँले प्रभावकारी सञ्चार माध्यममलाई चुनावका बेला एक पक्षले प्रयोग गर्ने जोखिम पनि उत्तिकै हुने भएकोले त्यसमा सजग हुन गुरुङले आग्रह गर्नुभएको छ ।
‘एमाले र प्रेस चौतारीमा आवद्ध सञ्चारकर्मीहरुले एमालेका नीति,बिचार र सिद्धान्तमा स्पष्ट हुनुपर्दछ’ उहाँले भन्नुभयो ‘जनतालाई स्पष्ट सुचना दिने र भ्रमहरुको तत्काल खण्डन गर्ने काम प्रेस चौतारीको रेडियोकर्मीहरुको हो ।’
कार्यक्रममा केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले एमालेका पक्षमा जनमत सृजना गर्न कसैलाई गाली गलौज गरेर भन्दा पनि तथ्यले प्रहार गर्नुपर्ने बताउनुभयो । ‘समाचारमा तथ्य राखिदिनुहोस जनताले को सही को गलत आफैं बुझ्नेछन्’ रिजालले भन्नुभयो ‘तथ्यको कसीमा गरिएको पत्रकारिताले एमालेलाई फाइदै पुग्छ । ’