काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आपत्ति जनाउनु भएको छ । कानुनमन्त्रीले हिरो हुने नाममा पीडितहरुमाथि दमन गरेको भन्दै उहाँले यस्ता विधेयक च्यातेर फाल्ने बताउनु भयो ।
आज सिन्धुपाल्चोकका माओवादी केन्द्रका नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले वर्तमान सरकारलाई सम्हालिएर व्यवहार गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘एउटा चटके मन्त्री ६ महिनाका लागि आएर हिरो हुनका लागि कसैले नगरेको मैले सकेँ भनेर पीडितहरुमाथि बदजफ्ती गर्ने ?’
संसदको सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल एमालेसँग सल्लाह नगरेको भन्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘मनपरी ढंगले विधेयक ल्याएको छ । बहुमत छ भनेर पास गर्न खोजेको छ । त्यस्ता विधेयकहरु च्यातेर फालिन्छ ।’
उहाँले भन्नुभयो, ‘पीडितहरुको आँसुमा खेलबाड गर्न, अझ पीडा थप्न शान्ति प्रक्रिया होइन । पीडा टुग्याउनु पर्यो, सद्भाव कायम गर्नुपर्यो, मेलमिलाप हुनुपर्यो ।’
स्वेच्छाचारी ढंगले कानून संशोधन गर्न खोजेको भन्दै अधयक्ष ओलीले सरकारलाई खबरदारी गर्नुभयो ।
अन्तर्राष्ट्रिय कानुन, सर्वोच्चको फैसलाअनुसार पीडितको चित्त बुझाएर समस्या समाधान खोज्नुपर्ने उहाँले बताउनु भयो । पीडितलाई दमन गरेर शान्ति प्रक्रिया टुंग्याए भनेर कसैले घोषणा गर्दैमा नटुंगिने भन्दै ओलीले भन्नुभयो, ‘पीडा थप्न बन्द गर, यथोचित ढंगले न्याय पाउनुपर्छ । मानवताविरुद्धको जघन्य अपराधमा सजाय हुनुपर्छ ।’





प्रतिक्रिया