अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनलाइनमार्फत जुवा खेलाउने गिरोह पक्राउ

अनलाइनमार्फत जुवा खेलाउने गिरोह पक्राउ


झापा – अनलाइनमार्फत जुवा खेलाउने र कन्सल्टेन्सीमार्फत सरकारी कागजात तथा दस्तखतको कीर्ते गरी दुरुपयोग गर्नेलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ ।

ल्यापटप तथा मोबाइलको प्रयोग गरी इन्टरनेटमार्फत जुवा खेलाउने र जापान पठाउने, अङ्ग्रेजी भाषाका कक्षा चलाउने बहानामा सरकारी कागजात र दस्तखत दुरुपयोग गर्नेलाई पक्राउ गरी  सोमबार  सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकका अनुसार पक्राउ पर्नेमा दमक–८ स्थित पदमा कन्सल्टेन्सीका सञ्चालकद्वय सतप्रकाश साह र राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एन्ड फोटो स्टुडियोका सञ्चालक अरुण कार्की र ब्रिटिस आर्मी तालिम केन्द्रका सञ्चालक राजु लिम्बू रहेका छन्।

पक्राउ परेकाका साथबाट प्रहरीले मोबाइल,  सिम, ल्यापटप,  स्ट्याम्प लगायतका सामग्री बरामद गरेको छ  । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरी नेतृत्वको टोलीले  अनुसन्धानपछि सो समूहलाई पक्राउ गरेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

पक्राउ परेकालाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।