काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन लगायत अन्य दलले जतिसुकै घेराबन्दी गरे पनि एमालेले चुनाव जित्नैपर्ने बताउनु भको छ ।
आजबाट ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले परमादेशबाट हट्नु परेकाले जनताको समर्थनबाट एमालेले चुनाव जित्नैपर्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘जनताको शक्ति सशक्त ढंगले अघि बढेको छ । जनताको समर्थनबाट जित्नैपर्छ । एमालेले चुनाव हार्न मिल्दैन।’
अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको यात्रा सफल बनाउन आवश्यक रहेको भन्दै जतिसुकै घेराबन्दी भए पनि एमालेले चुनाव जित्नैपर्ने जिकिर गर्नुभयो ।

भोलिसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आमनिर्वाचनका विषयमा निर्देशनसमेत दिनुभयो ।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा जनमत एमालको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिनुभयो।
उहाँले जनता अलमलमा पर्नसक्ने भन्दै उनीहरुलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताहरुको काँधमा रहेको बताउनु भयो ।
केन्द्रीय कमिटीको बैठकमा ११ वटा एजेन्डा प्रस्तुत गरिएको छ । चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको सपथ र कार्यविभाजन, सचिवालयले गरेका निर्णयको अनुमोदन, उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड, स्थानीय चुनावमा भएको अन्तर्घातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेस गर्ने बैठकका एजेन्डा रहेका छन् ।





प्रतिक्रिया