अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनाधिकृत संरचना हटाउनु महानगरको अधिकार : मेयर बालेन्द्र

अनाधिकृत संरचना हटाउनु महानगरको अधिकार : मेयर बालेन्द्र


काठमाडौ -काठमाडौं महानगरले मापदण्ड विपरित बनाइएका संरचनाहरु हटाउने क्रममा विभिन्न प्रश्नहरु उठ्न थालेपछि मेयर बालेन्द्र साहको तर्फबाट स्पष्टीकरण आएको छ । अनाधिकृत संरचनाहरु हटाउन बल प्रयोग गर्नु महानगरको कार्यकारिणी अधिकार भएको उनको दावी छ ।
सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै साहले मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन नदिनेसमेत बताउनुभएको छ ।
साहले विज्ञप्तिमा लेख्नु भएको छ , ‘सकेसम्म मिचाहा प्रवृत्तीको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प हामीसँग खुला छन् । अनाधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानूनी कार्यको थप निरन्तरता रोक्न अहिले हामी मूलतः रोकथाम तथा नियन्त्रण सम्बन्धी कारवाहीको चरणमा छौं ।’

आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्ने विश्वास उनले व्यक्त गरेका छन् । सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी अनाधिकृत निर्माण कार्य तथा नक्शा स्वीकृती गर्दा भूईंतल्ला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानूनी हुने उहाँको भनाइ छ ।
साहले निर्माण सम्पन्नताको प्रमाणपत्र लिने क्रममा अब उप्रान्त थप संरचना निर्माण नगर्ने र त्यसो गरेको खण्डमा महानगरले आदेश दिएका बखत भत्काउनेछु भनि महानगरसँग सम्बन्धित व्यक्ति वा संस्थाले कवुलियत गर्ने स्मरण गराउनुभएको छ । ।

‘महानगरले आफ्नो नियामक दायित्व पूरा गर्ने क्रममा यस तथ्यलाई पनि विशेष ध्यान दिँदै अनधिकृत संरचना भत्काएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालको संविधान र कानूनले काठमाडौं महानगरपालिकालाई कानून बनाउने व्यवस्थापकीय अधिकार, कानून कार्यान्वयन गर्ने कार्यकारिणी अधिकार तथा विवाद निरुपण गर्ने न्यायिक अधिकार सुम्पिएको भन्दै साहले अनाधिकृत संरचना हटाउनको लागि महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरेकोसमेत प्रष्ट्याएका छन् ।

अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनको लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११९२० ले दिएको उनले जनाएका छन् ।