काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन दलले नागरिकता विधेयकलगायतका विषयमा एमालेप्रति भ्रम छर्न खोजेको आरोप लगाउनु भएको छ ।
ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकमा बोल्दै उहाँले सबै भ्रमहरूलाई चिर्दै बहुमत आउने गरी चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘मधेस लगायतका क्षेत्रमा नागरिकताका विषयमा एमालेप्रति गठबन्धन दलले भ्रम सिर्जना गर्न खोजिएको छ र जन्मसिद्धका आधारमा नागरिकता दिनुपर्नेमा एमालेको कुनै आपत्ति छैन । पार्टीप्रतिको भ्रमलाई चिर्दै बहुमत आउने गरी निर्वाचनको तयारीमा लाग्नुस् ।‘
मुलुकमा देखिएको आर्थिक साथै विभिन्न समस्याहरू समाधान गर्न एमाले सरकारमा आउनैपर्ने अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले सत्ता गठबन्धनको ध्यान सरकारमा बसेर देशलाई लुट्ने र सत्ताको दुरुपयोग गरेर निर्वाचन जित्नेमा मात्रै केन्द्रित छ । यसअघि हामीले अघि सारेका राम्रा कामलाई रोक्ने मात्र काम गरेको छ । त्यसैले हामीले गरेका कामबारे जनतालाई जानकारी गराउनुपर्छ ।’





प्रतिक्रिया