काठमाडौं -रूकुम पश्चिममा पहिरोमा परी जाजरकोटका तीन आमाछोरी बेपत्ता भएका छन्। आइतबार दिउँसो गएको पहिरोमा आमाछोरी बेपत्ता भएका हुन्। कर्णाली प्रदेश प्रहरीकाअनुसार बेपत्ता हुनेमा जाजरकोट जिल्लाको भेरी नगरपालिका–१ का ३० वर्षीया बालमती राना र उनका दुईवटी छोरी १२ वर्षीया तिर्सना र दुई वर्षीया प्रतिक्षा छन्।
बालमती नलगार्ड नगरपालिका–१ स्थित माइतीघरबाट आफ्नो घर जाने क्रममा बाटोमा वर्षा भएपछि रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लागेकी थिइन्।
वर्षाबाट ज्यान जोगाउन सामुदायिक वनको भवनमा ओत लागेका तीनै आमाछोरीलाई ओत लागेकै बेला भवन माथिबाट आएको पहिरोले भवनसहित पुरी बेपत्ता बनाएको प्रहरीले जनाएको छ।
हाल प्रहरी चौकी पुर्तिमकाँडा रूकुम पश्चिमबाट तीन जनाको प्रहरी टोली खटिएर बेपत्ता आमाछोरीको खोजीकार्य जारी रहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।





प्रतिक्रिया