अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली फेरि किन प्रधानमन्त्री ? महासचिव पोखरेलले दिनुभयो पाँच आधार

एमाले अध्यक्ष ओली फेरि किन प्रधानमन्त्री ? महासचिव पोखरेलले दिनुभयो पाँच आधार


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री घोषणा गर्नुको आधार प्रस्तुत गर्नुभएको छ ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको पत्रकारसँगको अन्तर सम्वादमा महासचिव पोखरेलले अध्यक्ष ओलीलाई प्रधानमन्त्री घोषणा गर्नुको आधार राख्नुभएको हो ।

‘लोकप्रिय नेतालाई घेराबन्दीमा पारेर सत्ताबाट हटाउँदा फेरि जनताले सत्तामा ल्याउँछन भन्ने सन्देश दिन पनि केपी ओलीलाई फेरि प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेका छौं,’ महासचिव पोखरेलले भन्नुभयो । महासचिव पोखरेलले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेर आफूहरुले जनताको पक्षमा काम गरेको नेतालाई घेराबन्दी गर्नेहरुलाई जनताको अदालतबाट दण्डित गर्नुपर्छ भन्ने सन्देश दिन चाहेको पनि बताउनु भयो ।

‘एमालेभित्र नेतत्वको अभावमा होइन, नेपाली राजनीतिलाई सही बाटोमा डोहोर्याउनका लागि केपी ओलीलाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने निर्णय गरिएको हो,’ महासचिव पोखरेलले भन्नुभयो । महासचिव पोखरेलले नेपालको समकालिन नेताहरुमध्ये केपी ओली सर्वाधिक जनताले रुचाइएको र लोकप्रिय रहेको र भिजन भएको नेताका रुपमा आफूलाई अगाडि बढाउनु भएको बताउनु भयो ।

‘केपी ओली जनताका बीचमा लोकप्रिय हुनुहुन्छ कि अलोकप्रिय भन्ने कुरा अहिलेका घटनाक्रमले देखाइरहेको छ । केपी ओली अलोकप्रिय भन्ने प्रचण्ड मात्रै होइन, माधव नेपाल र शेरबहादुर देउवासम्म आज एमालेसँग चुनाव लडनका लागि गठबन्धनबाहेक बिकल्प छैन भनिरहनु भएको छ, अहिले उहाँहरुले नै जवाफ दिइरहनु भएको छ–जनतामाझ केपी ओली लोकप्रिय हुनुहुन्छ भन्ने कुरा,’ महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले केपी ओली पुनः प्रधानमन्त्री किन भन्ने प्रश्नलाई थप प्रष्ट पार्दै भन्नुभयो, ‘जतिबेला नेतृत्वमाथि प्रहार हुन्छ, नेतृत्वले काम गरिरहेको हुन्छ, घेरावन्दी गरिन्छ । आज म तपाईहरुलाई किन केपी ओली फेरि प्रधानमन्त्री भन्ने सन्दर्भमा नेकपाभित्रको अन्तरसंघर्षको एउटा घटना सुनाउनु चाहन्छु ।

नेकपाभित्रको अन्तरसंघर्षलाई बिभाजनबाट रोक्न सकिन्छ कि भनेर २०७७ पुस ५ गते म प्रचण्डको निवासमा गएको थिएँ । लामो छलफल भयो, म त्यो सवैतिर जान चाहन्न । मैले उहाँलाई के भनेको थिए भन्दा छिटो चुनावमा जाउँ न त । चुनावपछि तपाई प्रधानमन्त्री बन्नोस, कमरेड केपी ओलीकै नेतृत्वमा चुनावमा जाउँ, छिटो जाउँ भनेको थिए । प्रचण्डको जवाफ के थियो भने केपी ओली जनताको बीचमा अलोकप्रिय भइसक्नु भएको छ, उहाँलाई नेतृत्वमा राखेर चुनावमा जान सकिन्न भन्नुभयो । मैले उहाँलाई जवाफ दिएको थिएँ– यो तपाईंहरुको भ्रम हो ।

कमरेड केपी ओली कार्यकर्ता र जनताका बीचमा तपाईंहरु कुनै नेताभन्दा लोककप्रिय हुनुहुन्छ कार्यकर्ता र जनताको बीचमा भने । उहाँ त्यो मान्न तयार हुनुभएन । तर आज प्रचण्डजी मात्र होइन, माधव कुमार नेपालजी र शेरबहादुर देयवाजी पनि एमालेसँग चुनाव लडन गठबन्धनबाहेक अरु बाटो देख्नुभएको छैन । यसअर्थमा को लोकप्रिय ? को अलोकप्रिय भन्ने प्रश्नको उत्तर उहाँहरु स्वयं आफैले दिनुभएको छ । त्यसअर्थमा एउटा लोकप्रिय नेतालाई घेरावन्दीमा पारेर सत्ताबाट हहटाउँदाखेरी फेरि जनताले सत्तामा ल्याउछन भन्ने कुराको सन्देश दिनका लागि हामीले केपी ओलीलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छौं। एउटा काम गर्ने नेतालाई जव घेरावन्दी गन्छि, जनताका अदालतबाट घेरावन्दी गर्नेहरुलाई दण्डित गर्नुपर्छ भन्ने मान्यताको आधारमा हामीले उहाँलाई अगाडि सारेका छौं ।’

महासचिव पोखरेलले थप्नुभयो, ‘एमाले अध्यक्ष केपी ओली मुलुकको समृद्धिको सवालमा, राष्ट्रियताको सवालमा, स्वाधिनताको सवालमा र राष्ट्रिय हितको मुद्धामा अत्यन्त सक्षम र सफल नेताका रुपमा आफूलाई प्रस्तुत गर्नुभएको छ र हाम्रो पार्टी यो मामिलामा अग्रणी स्थानमा रहेको छ । किनकि हाम्रो पार्टीले नाकावन्दीको सामना गर्नदेखि लिएर मुलुकको गुमेको भूभागलाई समेटेर चुच्चे नक्सा जारी गर्नेसम्मको काममा अगुवाई गरेका छौं ।’

महासचिव पोखरेलले मुलुकलाई नयाँ उचाईमा पुर्याउन पनि केपी ओलीलाई पुनः प्रधानमन्त्री बनाउन एमालेले जनताको बीचमा लगेर स्थापित गर्न चाहेको बताउनु भयो । बिकास र समृद्धिको प्रश्नमा पनि ओली नै सवैभन्दा अगाडि रहेको र उहाँको तुलनामा अरु सवै निकै होचो रहेको तथ्य राख्नुभयो । महासचिव पोखरेलले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दुई ध्रुवबीचको फैसला हुने निर्वाचनको रुपमा रहेको बताउनु भयो ।

‘यस पटकको निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्तिका बीचको छनोटका रुपमा रहेको छ । पाँच दलीय सत्ता गठबन्धन चुनावमा एमालेसँग एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामथ्य गुमाइसकेको छ । चुनावमा एमालेसँग प्रतिस्पर्धा गर्न पाँच दल बाहिरका शक्तिलाई पनि साथमा लिइरहेको छ । यसअर्थमा आगामी निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्तिबीचको छनोटका रुपमा रहेको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।