अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा ३ हजार ८५९ मुद्दा फर्छ्योट

झापामा ३ हजार ८५९ मुद्दा फर्छ्योट


झापा – जिल्ला अदालत झापामा गत आर्थिक वर्ष २०७८/०७९ मा मुद्दाको चाप बढेको देखिएको छ । यता मुद्दा फछ्र्योटमा पनि झापा अदालत अब्बल नै दरिएको छ ।

जिल्ला अदालतले आव २०७८/०७९ मा तीन हजार ८५९ मुद्दा फर्छ्योट गरेको छ । उक्त गत आर्थिक वर्षमा आर्थिक वर्ष २०७७/०७८ बाट दायित्व सरेर आएकोसमेत गरेर छ हजार चार सय १९ दर्ता रहेका थिए ।

दायित्व सरेर आएका र नयाँ दर्ता भएकासहित तीन हजार ८५९ मुद्दा फर्छ्योट भएको सूचना अधिकारी अर्जुन गुरागाईंले जानकारी दिनुभयो । समग्रमा ६० प्रतिशत मुद्दा फर्छ्योट गर्न जिल्ला अदालत झापा सफल भएको सूचना अधिकारी गुरागाईंको भनाइ छ । उहाँका अनुसार आव २०७८/०७९ मा फर्छ्योट हुन बाँकी दुई हजार ५६० मुद्दा रहेका छन् ।

गत आर्थिक वर्ष सबैभन्दा धेरै मुद्दा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका र धेरै फर्छ्योट पनि सोही मुद्दा भएको तथ्याङ्कले देखाएको छ । एक हजार तीन सय ६२ मुद्दा सम्बन्धबिच्छेदका मुद्दा फर्छ्योट भएका छन् । त्यस्तै अंशबण्डा ४५४, लेनदेन १३५, जग्गासम्बन्धी ९४, लिखत बदर १९८, लागुऔषधसम्बन्धी २७९, लिखतसम्बन्धी कीर्ते २७, जालसाजी १९३, ठगी ४०, जबर्जस्ती करणी १२२, जबर्जस्ती करणी उद्योग ३६, चोरी तथा डकैतीसम्बन्धी १६१, करणीसम्बन्धी कसुरअन्तर्गत १९१, कर्तव्य ज्यान १७ र ज्यान मार्ने उद्योग ३१, बहुविवाह ५०, अपहरणसम्बन्धी कसुर पाँच, सवारी ज्यान वा अङ्गभङ्ग घाइते भएको कसुर ११९, चेक अनादर ७३ र रिट ४५ लगायतका मुद्दा गत आवमा फर्छ्योट गरिएको सूचना अधिकारी गुरागाईंले जानकारी दिनुभयो ।

आव २०७७/०७८ मा सम्बन्धविच्छेदका मुद्दा नौ सय ३८ रहेकामा गत आवमा बढेर एक हजार तीन सय ३० पुगेको छ । यसरी हेर्दा झापामा दिनानुदिन सम्बन्धविच्छेदका मुद्दा बढ्ने क्रममा देखिएको नायब सुब्बा राजु पौडेलले बताउनुभयो ।