अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थिरताका लागि ‘माओवादी छोडौं’ अभियान सुरू गरौं

स्थिरताका लागि ‘माओवादी छोडौं’ अभियान सुरू गरौं


काठमाडौं – मुलुक आर्थिक रुपमा सवल र सामाजिक रुपमा सक्षम हुनका लागि राजनीतिक स्थिरता अनिवार्य सर्त हो। हाम्रो मुलुकमा विभिन्न चरणमा राजनीतिक परिवर्तन भए पनि राजनीतिक स्थिरता हुन सकेको छैन । राणाशासन, पञ्चायत, बहुदलीय व्यवस्था होस् वा गणतन्त्र नै किन नहोस्, मुलुकको परिवर्तनका लागि भन्दा सत्ता स्वार्थका लागि राजनीति केन्द्रीत भयो । कुन व्यक्ति प्रधानमन्त्री हुने, कुन व्यक्ति मन्त्री हुने, शक्तिमा को रहने, कसलाई सिध्याउने भन्ने खेल भएकै कारण आर्थिक विषय ओझेलमा पर्‍यो ।

भिजन भएको नेता धेरै कम देखिए, केहीले गर्न खोजे पनि विगतमा सत्ताको नेतृत्व गरेका र आफ्नो कार्यकालमा खासै देखिने काम केही गर्न नसकेकाहरुले असहयोग गरेका कारण गर्न खोज्नेहरुले पनि गर्न सकेनन् । २०४६ को परिवर्तनपछि नेपाली कांग्रेसको एकमाना सरकार बन्यो, बहुमत सहितको सरकारले स्थिरता दिन सकेन । कांग्रेस आन्तरिक कारणले नै मध्यावधीमा जान बाध्य भयो । २०५१ मा नेकपा एमालेले अल्पमतको सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्‍यो । जम्मा ९ महिना सरकारको नेतृत्व गरेको एमालेले आर्थिक विकासका लागि आफ्नो गाउँ आफै बनाउ कार्यक्रम र सामाजिक सुरक्षा भत्ता लगायत लोकप्रिय कार्यक्रम ल्यायो । दुर्भाग्य ९ महिनामै एमाले सरकार ढालियो । त्यसपछि नेपालको राजनीतिमा सत्ताका लागि गर्न हुने र नहुने सबै काम भए । त्यही समयमा तत्कालिन नेकपा माओवादीले विद्रोह शुरु गर्‍यो ।

एक वर्ष देखि नेपालमा एमाले बाहेकका पाँच दलको गठबन्धन सरकार छ । यो सरकार छ कि छैन जनतालाई आभास भएको छैन।

२०५६ को निर्वाचनमा फेरी कांग्रेसले बहुमत पायो, कृष्ण प्रसाद भट्टराईलाई प्रधानमन्त्री प्रस्ताव गरेर निर्वाचनमा गएको कांग्रेसले बहुमत पाएपछि भट्टराईलाई धेरै दिन सत्ता दिएन, उनलाई अपमानित गर्दै गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनायो, गिरिजालाई हटाएर शेरबहादुर देउवा प्रधानमन्त्री बने । वर्तमान प्रधानमन्त्री समेत रहेका तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले सत्ता चलाउन सकेनन् उनीबाट सत्ता खोसेर राजाले आफ्नो अनुकुलको शासन सञ्चालन गर्न खोजे ।

राजाको शासन सबै मिलेर फाल्न सफल भए । संसद पुनस्थापना पछि सर्वदलीय सरकार बन्यो, निर्वाचन भयो, नेकपा माओवादी सबै भन्दा ठुलो दल बन्यो, सत्ता सञ्चालन गर्‍यो, फेरी दलहरुबीच बेमेल भयो । गठबन्धन सरकार बन्न थाले, ९/१० महिनामै सरकार ढाल्ने र बनाउने खेल त्यतिबेला पनि भए ।

२०७० को संविधानसभा निर्वाचनमा कांग्रेस ठुलो दल बन्यो, कांग्रेस र एमाले मिलेर सत्ता चलाए । माओवादी विपक्षमा बस्यो । संविधान जारी भएपछि कांग्रेस विपक्षमा बस्यो । एमाले र माओवादी मिलेर सत्ता चलाए । यो वा त्यो मिलेर सत्ता चलाउने नाममा मुलुक भने सधै अस्थिरताको गोटी बन्यो ।      

 २०७४ को निर्वाचनमा एमाले ठुलो दल बन्यो । एमालेसंग माओवादीको गठबन्धन भएकाले उनीहरुले सत्ता चलाए । पार्टी एकीकरण पनि गरे । ३ वर्ष पुग्दा नपुग्दै सरकार फेरी परिवर्तन भयो ।       

केपी शर्मा ओली नेतृत्वको सरकारले केही गर्छ कि भन्ने आस देखाएको थियो तर पार्टीको आन्तरिक भुमरीमै त्यो सरकार पनि लुटपुटियो ।

एउटा सम्झनै पर्ने विषय २०७२ सालमा संविधान जारी भएपछि मुलुकको तेस्रो राजनीतिक दल निरन्तर सत्तामा छ । संविधान बनेपछि नेकपा एमालेको नेतृत्वमा रहेको सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, केपी ओलीलाई हटाउन अग्रसर भयो र आफ्नै नेतृत्वमा सरकार बनायो । कांग्रेससँग आधा आधा सरकारको नेतृत्व गर्ने सहमति गरेको माओवादीले २०७४ को निर्वाचन बनाउने सरकारको नेतृत्व देउवालाई दियो । त्यही चुनावमा एमालेसँग चुनावी तालमेल पछि पार्टी एकीकरण समेत गरेर माओवादी केन्द्र निरन्तर सरकारमै रह्यो । केपी ओली नेतृत्वको सरकार ढालेर पनि माओवादी सत्तामै छ ।

एकवर्ष देखि नेपालमा  एमाले बाहेकका ५ दलको गठबन्धन सरकार छ। यो सरकार छ कि छैन जनतालाई  आभास भएको छैन।

हरेक क्षेत्रमा सरकार असफल छ, सरकार जताततै असफल हुदा पनि गठबन्धनमा रहेका दलहरु गठबन्धनलाई निरन्तरता दिने ध्याउन्नमा छन् ।

के यही गठबन्धन जारी राखेर मुलुकले स्थिरता पाउछ त ? सम्भव छैन, सत्ता स्वार्थका लागि बनेका यस्ता गठबन्धनले मुलुकको विकासमा योगदान गर्न सक्दैनन् ।

यो मुलुकमा स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच एउटा सहमति आवश्यक छ । सत्ता साझेदार गरेर वा सत्ता पक्ष र विपक्षमै रहेर सही मुलुकलाई आर्थिक रुपमा सक्षम बनाउनका लागि यि दुई पार्टीले ठिक ढंगले सोच्न जरुरी छ ।

राजनीतिमा तेस्रो शक्ति हावी हुने अवस्था जहिलेसम्म रहन्छ, त्यतिबेलासम्म न स्थिरता हुन्छ, न मुलुकको आर्थिक समृद्धि हुन्छ । तेस्रो शक्ति पनि यस्तो छ कि स्वार्थका लागि जे पनि गर्न तम्तयार हुन्छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जहिलेसम्म राजनीतिको मुख्य भागमा रहन्छन्, वा उनी सत्ता सञ्चालनको सारथी बन्छन् त्यतिबेलासम्म स्थिरता सम्भावना छैन ।

मुलुकको विकासका लागि स्थिर राजनीतिक शक्तिका हातमा सत्ता चाहिएको छ । प्रचण्डको साथ लागेर स्थिर राजनीतिक शक्ति बन्न सक्दैन । हिजो एमालेले स्थिरता दिन सकेन र अवका दिनमा कांग्रेसले सक्दैन । यी दुवै दलले अब पनि चेतेनन् भने अवको संसद २०५२ साल पछिको भन्दा बढी बेहालको अवस्थामा पुग्ने निश्चित छ ।

दल सञ्चालनमा होस वा देश सञ्चालनमा उनी अस्थिरतामा रमाउने पात्र हुन, उनी धमिलो पानीमा माछा मार्न सिपालु व्यक्ति हुन। केपी ओली र पूर्व अर्थसचिव रामेश्वर खनालले भने झै उनी राष्ट्रिय समस्या हुन् । राष्ट्रिय समस्यालाई राष्ट्र सञ्चालनको सुप्रिमो बनाउदासम्म यो मुलुकले स्थिरता पाउदै पाउदैन । स्थिरता हुन लाग्यो कि उनले एउटा एउटा बखेडा झिक्छन् र त्यो अवस्था हुन दिदैनन् ।

गणतन्त्र ल्याउनका लागि प्रचण्डको योगदानको कुरा गरिन्छ, उनको योगदान हो पनि तर उनले गरेका कामले नेपाली जनता दुखी हुदैछन् । उनले सशस्त्र युद्ध सञ्चालन गरेर गाउँमा भएका बुद्धिजिवी, समाजसेवीलाई बजार धपाए । गाउँमा सञ्चालित निजी स्कुलहरु बन्द गराएर आम मानिसलाई बजार केन्द्रीत गराए । गाउँमा बस्न नसक्ने अवस्था भएपछि धेरैलाई विदेशिन वाध्य बनाए । बजारमा केन्द्रीत भएकाहरुले बजारमा घर घडेरी किन्न थाले । बजारमा जग्गाको भाउ आकाशियो । जग्गा प्लटिङ देखि घरजग्गाको कारोबारका कारण सानो तिनो आय भएका मान्छेहरु बाच्न नसक्ने अवस्थामा पुगे । आज देश जग्गा दलालको हातमा छ ।  त्यसको मुख्य जिम्मेवार प्रचण्ड नै हुन ।

मुलुकको विकासका लागि स्थिर राजनीतिक शक्तिका हातमा सत्ता चाहिएको छ । प्रचण्डको साथ लागेर स्थिर राजनीतिक शक्ति बन्न सक्दैन । हिजो एमालेले स्थिरता दिन सकेन र अवका दिनमा कांग्रेसले सक्दैन । यि दुवै दलले अब पनि चेतेनन् भने अवको संसद २०५२ साल पछिको भन्दा बढी बेहालको अवस्थामा पुग्ने निश्चित छ ।

आगामी निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसले माओवादी केन्द्रलाई एक्लै निर्वाचनमा जाने वातावरण सिर्जना गर्न सकेमा देशले स्थिरता पाउन सक्छ अन्यथा तेस्रो दलले सत्ता चलाउने अवस्थाले निरन्तरता पाउछ । आज मुलुकमा प्रधानमन्त्री देउवा छन्, तर सत्ताको नेतृत्व प्रचण्डले गरिरहेका छन् । प्रचण्डको अनुमति लिएर मात्रै देउवाले आफ्ना योजना अगाडि बढाउनु पर्ने अवस्था छ । प्रचण्डलाई लगाम लगाउन सक्ने एकमात्र व्यक्ति केपी शर्मा ओली हुन् । उनलाई पनि प्रचण्डले परमादेश लगाएर सत्ताबाट हटाइदिए ।

माओवादी आगामी निर्वाचनबाट तेस्रो शक्ति बन्यो, माओवादी बिना सरकार नबन्ने अवस्था आयो भने त्यतिबेला कस्तो अवस्था रहला ? सहजै अनुमान गर्न सकिन्छ । त्यो समय अस्थिरताको मद्दा मजाक बाहेक केही हुने छैन ।

अस्थिरता कि स्थिरता भन्ने अवस्था अबका दिनमा एमाले र कांग्रेसले लिने रणनीतिमा भर पर्दछ । हिजो एमालेका अध्यक्ष केपी ओलीले आफु प्रधानमन्त्री बन्नका लागि माओवादीसंग चुनावी तालमेल र पार्टी एकीकरण गरेका कारण आफ्नै पार्टी विभाजनमा पुर्‍याए, अहिले माओवादीलाई साथ नलिए एमालेतिर जान्छ भनेर कांग्रेसले बुइ चढाइरहेको छ ।  भोली त्यो कांग्रेसकै लागि र देशकै लागि घातक हुने निश्चित छ । त्यसैले यतिबेला एमाले र कांग्रेसले सके दुई दल मिलेर सत्ता चलाउने नभए सत्ता पक्ष र विपक्ष भएर सत्ता चलाउने गरी माओवादी केन्द्रसंगको सहकार्य तोड्न आवश्यक छ । अन्यथा यो मुलुकको स्थिरता नचाहनेमा हिजो एमाले भएजस्तै अहिले कांग्रेसलाई भन्नु पर्ने अवस्था आउछ । स्थिरताका लागि माओवादी छोडौ अभियान शुरु गरौ ।