विराटनगर- नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बराललाई प्रदेशसभा सदस्यमा सिफारिस प्रदेश १ को एमालेको राजनीतिमा नयाँ चर्चा सुरु भएको छ । एमालेका पुराना नेता बराल पार्टीको दशौं महाधिवेशनबाट स्थायी कमिटीका सदस्य चयन हुनु भएको थियो । बरालको उम्मेद्वारीलाई भावी मुख्यमन्त्रीको रुपमा चर्चा गरिएपछि एमालेका अरु आकांक्षी र नेताहरुबीच नयाँ चर्चा सुरु भएको छ ।
बरालसँगै ११ जनाको नाम सिफारिस भएकोले बरालको उम्मेद्वारीको सुनिश्चित छैन । मुख्यमन्त्रीको रुपमा पार्टीले अघि सार्न संस्थगत रुपले लागेको भए बरालको नाम सर्वसम्मत रुपमा आउथ्यो भन्ने एकथरी एमालेको धारणा छ । ११ जनाको नाममा आफ्नो नाम मिसाएर गुरु बरालले सिफारिस गर्नुहुदैन थियो भन्ने तर्क पनि एमाले वृतमा चलेको छ । अर्थात मुख्यमन्त्रीको आकांक्षामा सिफारिस गराउँदा उहाँले आफ्नो क्षेत्रका आकांक्षीको व्यवस्थापन पहिले नै गरिसक्नु पर्ने धारणा पनि प्रदेश १ को एमाले वृत्तमा छ ।
मोरङ ६ को प्रदेश निर्वाचन क्षेत्र क बाट बरालसहित सत्यनारायण चौधरी, मिरा भगत, युवराज बराल, नागेश पोखरेल, ज्ञानेन्द्र ओझा, लक्ष्मी फुयाँल, रिता न्यौपाने, हर्क परियार र राजीव गौतमको नाम सिफारिस भएको छ ।
पार्टीको केन्द्रीय कमिटीले यसै कार्यकालमा विगतका कुनै संसदीय वा स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी पाएका व्यक्तिले पुन उम्मेद्वार बन्न नपाउने विधी बनाएका कारण बराललाई आफ्नो उम्मेद्वारीको पुष्टी गर्न केही मेहनत गर्नुपर्ने देखिन्छ । बरालको उम्मेद्वारीलाई रोक्न पाटी भित्रको प्रतिष्पर्धी खेमाले १५ भदौमा अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन ५ को बुँदाको साहारा लिने देखिएको छ । उक्त बुँदामा यस अघि कुनै पनि निर्वाचनमा पराजित भएका उम्मेद्वारलाई आगामी संघयि तथा प्रदेशसभामा उम्मेद्वार नबनाइने कुरा उल्लेख छ । अपानिमा भनिएको छ – ‘पछिल्लोपटक भएका कुनै पनि तहको निर्वाचनमा पराजित उम्मेदवारहरू कसैलाई पनि प्रदेशसभा वा प्रतिनिधिसभाको प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउनु उपयुक्त हुन्न । ’ तर जनाधार भएका र निर्वाचन प्रयोजनलाई समेत ध्यानमा राखी अन्य पार्टीबाट प्रवेश गराइएकाहरूको हकमा विशेष निर्णय लिनु उपयुक्त हुन्छ ।
बराललाई एमालेले गत माघमामा भएको राष्ट्रिय सभाको निर्वाचनमा उम्मेद्वार बनाएको थियो । बराल गोला प्रथाबाट काँग्रेसका गोपाल बस्नेतसँग पराजित हुनुभएको हो । तथापी बरालको सिफारिस हाइ कमाण्डको संकेतले भएको हो कि आफ्नै इच्छा वा स्थानीय कार्यकर्ताको इच्छाले भएको हो भन्ने कुरा खुलेको छैन ।
यस अघि प्रदेश १ को मुख्यमन्त्रीको रुपमा स्थायी कमिटीका अर्का सदस्य हिक्मत कार्कीले दाबी गरिरहनु भएको थियो । कार्कीले चुनावपछिको सम्भावित दृष्य र एमालेले जित्न सक्ने ठाउँहरुको सुची तयार गर्दै एमालेको एक्लै बहुमत पुग्न नसक्ने अवस्थामा कुन पार्टीको साथ लिने भन्ने रणनीति पनि बनाइरहनु भएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाई जीवन आर्चायले गठबन्धनबाट उम्मेदवारी दिने तयारी छ ।





प्रतिक्रिया