काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको टिप्पणी गर्नुभएको छ । सत्तारुढ गठबन्धन आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जान डराइरहेको उहाँको भनाई थियो ।
पार्टीको सम्पर्क समन्वय कमिटीले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ दलहरुकै कारण मंसीर ४ गते नै सो निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको बताउनु भयो।
उपाध्यक्ष नेम्वाङले निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने दावी गर्दै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।
उपाध्यक्ष नेम्वाङले भन्नुभयो, ‘सरकार चुनावदेखि डराइरहेको छ । चुनाव घोषणा गरेपछि सरकार साह्रै ठूलो त्रासमा छ । चुनाव हुन्छ भन्ने ढुक्क छैन । स्थानीय तहका चुनाव पनि आफ्नो पार्टीको दवावमा मात्रै सरकारले गरेको हो । आफूलाई लोकतान्त्रिक हुँ भन्ने काँग्रेस नेतृत्वको सरकार गठबन्धन बनाएर पनि एमालेसँग चुनाव लड्न त्रसित छ ।’
उपाध्यक्ष नेम्वाङले सरकारले लोकतान्त्रिक विधि र प्रक्रियालाई समेत लत्याएको आरोप लगाउनु भयो । उहाँले निर्वाचनमा गएपछि जनताले आफ्नो पार्टीको पक्षमा मतदान गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।





प्रतिक्रिया