काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिनु भएको छ ।
आज बसेको संसद बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै उहाँले आजैदेखि लागू हुने गरी आफू सांसदको भूमिका नहुने घोषणा गर्नु भएको हो ।
अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘संसदको यो कार्यकालको यो अन्तिम उपस्थिति र अन्तिम कुरा राख्न म यहाँ उपस्थित भएको छु। चुनाव घोषणा भइसकेपछि यही तरिकाले संसद चलिरहनु र जीवित भइरहनु उपयुक्त हुँदैन । प्रजातन्त्रमा विश्वास राख्ने दलहरुले निष्पक्ष निर्वाचनमा विश्वास गर्छन्। तर संसद राखिराखेर निष्पक्ष निर्वाचन हुन सक्दैन। अब म चाहिँ संसदमा आउँदिनँ। पार्टीको अध्यक्ष पनि छु। मैले पहिले पनि भत्ता पकाउनका लागि संसद आउँदिन भनेको हो।’
उहाँले संसदको आयु मंसिर ४ गतेपछि पनि राख्ने भन्ने प्रक्रिया सुरु भएकोमा आपत्ति जनाउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारको यो निर्णयले मलाई लज्जित बनाएको छ। बाटोबाटै मैले संसद छाडेँ भन्नु उचित हुँदैन । म यहीँबाट भन्छु आजबाट सांसदका रुपमा यहाँ उपस्थित हुने छैन। सभामुख महोदय र सचिवालयलाई आग्रह गर्दछु मेरो नाममा तलब भत्ता सुविधा रोक्का गरियोस्। मैले अब निवेदन दिनुपर्ने भए म निवेदन दिएर बाहिरिन्छु।’





प्रतिक्रिया