उदयपुर – नेकपा एमालेले उदयपुरले प्रतिनिधिसभा सदस्यका लागि ११ जनाको नाम सिफारिस गरेको छ ।
जिल्लामा दुई क्षेत्र रहेका छन् । जसमा क्षेत्र नम्बर १ बाट चार जनाको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्बर २ बाट सात जनाको नाम सिफारिस भएको छ ।
आइतबार बसेको नेकपा एमाले उदयपुरका दुबै क्षेत्रको बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नाममा सहमति जुटाउन नसकेपछि नसकेपछि ११ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो।
जिल्लाको क्षेत्र नम्बर १ बाट एमाले पोलिटब्यूरो सदस्य मञ्जु कुमारी चौधरीसहित एमाले प्रदेश १ कमिटी सदस्य डा. देवराज रोका (कल्याण), प्रदेश कमिटि सदस्यहरु बिमल कार्की र सुरेश तामाङ्ग रहनु भएको छ ।
मञ्जु चौधरी यसअघि पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्थ्यो । उहाँ कांग्रेस नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग पराजित हुनुभएको थियो । त्यस्तै बिमल कार्की प्रदेश सांसद् समेत हुनुहुन्छ । अघिल्लो प्रदेशसभा चुनावमा उदयपुर क्षेत्र नम्बर १ मा रहेको दुई क्षेत्र मध्ये कार्की (क) बाट निर्वाचित हुनुभएको थियो ।
त्यस्तै क्षेत्र नम्बर २ बाट एमाले प्रदेश १ का उपसचिव शैलेस लामासहित एमाले प्रदेश १ कमिटी सदस्यहरु अम्बरबहादुर रायमाझी, बेदप्रसाद पोख्रेल, कला घले, प्रेम गौतम, भेषराज थापा र उदयपुर जिल्ला कमिटी उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ रहनु भएको छ।
कला घले प्रदेशसभा सदस्य समेत हुनुहुन्छ । उहाँ अघिल्लो प्रदेश सभाको चुनावमा उदयपुर क्षेत्र नम्बर २ मा रहेको दुई क्षेत्रमध्ये (ख) बाट निर्वाचित हुनुभएको थियो । घले एमाले माओवादीको बामगठबन्धनको प्रदेश सरकार हुँदा मन्त्री समेत हुनुभएको थियो । त्यस्तै शैलेस लामा विद्यार्थी आन्दोलनदेखि सक्रिय राजनितिमा लाग्नु भएको तथा अनेरास्ववियुका पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ । लामो समयसम्म विद्यार्थी राजनीतिमा आबद्ध लामा एकदमै लोकप्रिय हुनुहुन्छ ।
माथि उल्लेखित नाम मध्ये क्षेत्र नम्बर १ बाट मञ्जु कुमारी चौधरी र क्षेत्र नम्बर २ बाट शैलेस लामा उम्मेदवार बन्ने प्रवल सम्भवना रहेको बताइएको छ ।





प्रतिक्रिया