अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी-कांग्रेस परित्याग गरी एमालेमा प्रवेश

माओवादी-कांग्रेस परित्याग गरी एमालेमा प्रवेश


काठमाडौं – पर्यटन व्यवसायी तथा समाजसेवी प्रकाश गौतम, माओवादी केन्द्रका पूर्व लडाकू सुगम रेग्मीसहित विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा युवा नेताहरु एमाले प्रवेश गर्नुभएको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालयमा आज आयोजित विशेष समारोहबीच उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकालले टीका र खादा लगाई स्वागत गर्नुभयो ।

आज एमाले प्रवेश गर्नेमा ४५० जनाभन्दा युवा नेता कार्यकर्ता रहेका छन् । पर्यटन व्यवसायी गौतम काठमाडौंको बूढानीलकण्ठ निवासी हुनुहुन्छ । उहाँ झापाको विर्तामोडमा सञ्चालनमा रहेको होटल किङ्सवरिका अध्यक्ष समेत हुनुहुन्छ ।

पार्टी प्रवेश गर्नेमा मनिषा सुवेदी गौतम र माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य अनुप तिमिल्सिना, माओवादी केन्द्रका पूर्व लडाकू सुगम रेग्मी लगायत हुनुहुन्छ । माओवादी केन्द्रका पूर्व लडाकू रेग्मीले आफूसँगै ५६ जना एमालेमा प्रवेश गरेको बताउनुभयो । उहाँहरू पार्टी प्रवेशका लागि गाजाबाजासहित पार्टी कार्यालय आइपुग्नुभएको थियो । पार्टी प्रवेश गर्नेहरूमा अधिकांश माओवादी र नेपाली काँग्रेसका युवाहरू हुनुहुन्छ ।

पार्टीमा नवप्रवेशीहरूलाई स्वागत गर्दै एमाले उपाध्यक्ष नेम्वाङले एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बाह्य शक्तिको समेत षडयन्त्रमा घेराबन्दी गरिए पनि नेपाली जनताले एमाले र यसको नेतृत्वलाई माया र विश्वास गर्नु सुखद पक्ष भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘देशभर एमाले प्रवेशको लहर चलिरहेको छ । आगामी निर्वाचनपछि अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेर पार्टी निर्वाचन अभियानमा होमिइसकेको छ । त्यसैले एमालेको सरकारले विगतमा गरेका राम्रा काम लिएर जनतामा जाँदा सफलता प्राप्त हुने विश्वास लिएको छु ।’

वर्तमान गठबन्धन सरकारले देश र जनताका हितमा कुनै काम गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रमुख प्रतिपक्ष एमालेले गलत काममा आवाज उठाउँदा टेरपुच्छर नलगाउने गठबन्धनलाई जनताको अदालतले सजाय दिनेछ ।’

उपाध्यक्ष नेम्वाङले नवप्रवेशी साथीहरूलाई पार्टीले उपयुक्त जिम्मेवारी दिने, पार्टीमा काम गर्ने अवसर पाउने र पश्चाताप गर्ने दिन नआउने विश्वास दिलाउँदै स्वागत र शुभकामना व्यक्त गर्नुभयो ।

नवप्रवेशीमध्येबाट पर्यटन व्यवसायी प्रकाश गौतमले समृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय अभियान लिएर काम थाल्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई देशीविदेशी षडयन्त्रका कारण सरकार छाड्नुपरे पनि आगामी निर्वाचनमा एमालेलाई विजयी बनाई अध्यक्ष ओलीको कार्यकालका विकास निर्माण लगायतका काम पुनः अगाडि बढाउने अवसर सिर्जना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।