काठमाडौ- संघीय र प्रदेश तहको निर्वाचनका लागि नेकपा एमालेका क्षेत्रीय कमिटीहरुले नाम छनौट गर्ने आज अन्तिम दिन हो । पार्टीको केन्द्रीय कमिटीले भदौ २२ गते भित्र सबै तहका उम्मेद्वार सिफारिस गर्न क्षेत्रीय कमिटीहरुलाई निर्देशन दिएको थियो ।
त्यसै अनुसार अधिकांस कमिटीहरुले जिल्ला कमिटीमा नाम सिफारिस गरेका छन् । बाँकी रहेकाहरुले आज दिनभरीमा जिल्ला कमिटीमा सिफारिस गरेर पठाइसक्नु पर्ने एमाले निर्वाचन विभागका उपप्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।
केन्द्रीय कमिटीले क्षेत्रीय कमिटीहरुलाई सके सर्वसम्मत नत्र बढीमा एकजना महिला सहित तीनजनाको नाम पठाउन निर्देशन दिएको थियो । तर अधिकांस क्षेत्रीय कमिटीहरुले केन्द्रले तोकेको आधारमा उम्मेद्वार सिफारिस गर्न सकेनन् । ‘तीनजना भनेको ठाउँमा २० जनासम्मको नाम सिफारिस भएर आएको छ’ प्रदेश नं १ का एक पदाधिकारी भन्छन् ‘क्षेत्र र जिल्ला कमिटीहरुले आकांक्षीहरु बीच छलफल गराउने,सहमतीको प्रयास गराउनेतर्फ कुनै प्रयास गरेको देखिएन ।’
एमालेको यसपालीको उम्मेद्वार सिफारिसले प्रदेश र केन्द्रीय सचिवालयलाई धेरै बोझ पारेको नेताहरुको भनाइ छ । तल्ला कमिटीहरु बाटै ‘सर्ट लिस्ट’ भएर आउनु पर्ने नाम एक मुष्ठ पाथी पठाइदिए पछि छनौटमा थप समय लाग्ने नेताहरुको भनाइ छ । क्षेत्रको सिफारिसलाई जिल्लाले पनि आकांक्षीहरुका बीच छलफल गराएर नाम कटौती गरेर पठाउनु पर्नेमा त्यसो नगरेको नेताहरुको भनाइ छ । ‘जिल्ला कमिटी र त्यस भन्दा माथी भएका नेताहरु नै उम्मेद्वारको दाबेदार भएकोले छलफल गर्न कोही राजी देखिएनन् । आएका सबै नाम केन्द्रसम्म पुगोस भन्ने चाहना हरेक उम्मेद्वारमा देखियो’ एमालेका एक नेता भन्छन् ।
एमालेमा सिफारिस भएका उम्मेद्वारको भिड र उनीहरुलाई आएको बधाई देखेर सामाजिक सञ्जालमा आलोचना पनि भइरहेको छ । जति जनाले नाम टिपाए उति जनाको नाम केन्द्रसम्म पुग्ने स्थिती देखिएपछि उम्मेद्वारका आकांक्षीको संख्या झन् बढेको नेताहरु बताउछन् । जिल्लामा नाम कटौती गर्ने नेतृत्वमा बसेको नेता स्वंय दाबेदार भएकोले नाम काटेर अरुलाई चिढ्याउने आँट नगर्दा पनि उम्मेद्वारको लस्कर लागेको एमाले वृत्तमा चर्चा छ ।





प्रतिक्रिया